तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री रेग्मी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज हुनुभएको छ ।

काठमाडौँको वीर अस्पतालमा पाँच दिनसम्म टाउकोमा जमेको रगतको उपचारपछि आज साँझ डिस्चार्ज हुनुभएको हो ।

अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिनुभयो । उहाँले उपचारमा सहयोग गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासन लगायत सम्पूर्णलाई धन्यवाद दिनुभयो ।

केही दिनअघि सुत्ने बेलामा अचानक टाउको ठोक्किएको र एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि उहाँलाई बुधवार अस्पताल भर्ना गरिएको थियो ।

ज्वरो र वान्ताका कारण स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच दिनसम्म अस्पतालमै राखेर उपचार गर्नुपरेको मन्त्रीका स्वकीय सचिव हिमाङ्क भण्डारीले बताउनुभयो । मन्त्री रेग्मीलाई चिकित्सकले एक हप्ता निवासमै आराम गर्न सुझाव दिनुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button