झापा कारागारका कैदीबन्दीमा छाला र मानसिक रोग समस्या

भद्रपुर, झापा । झापा कारागारका कैदीबन्दीमा छाला (चर्म रोग) र मानिसक रोगको समस्या बढेको पाइएको छ ।
नयाँ वर्ष २०७९ को अवसरमा झापा कारागार प्रशासनको सहकार्यमा मेची अस्पताल भद्रपुरले शुक्रवार कारागारभित्रै आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा गरिएको परीक्षणमा कैदीबन्दीमा त्यस्तो समस्या देखिएको हो ।
मेची चिकित्सकहरूको टोलीले चेकजाँच गर्दा कैदीबन्दीमा छाला, मानिसक, आँखा र दादको समस्या बढी भेटिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.टङ्कप्रसाद बाराकोटीले जानकारी दिनुभयो ।
चेकजाँच गरिएका कैदीबन्दीमध्ये आधाभन्दा बढीमा छाला र मानिसक रोगको समस्या देखिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य जाँचपछि कैदीबन्दीलाई निःशुल्क औषधि पनि उपलब्ध गराइएको थियो ।
कैदीबन्दीहरुले उपचारका लागि मेची अस्पताल आउँदा पनि सुरक्षादेखि पालो कुर्नुपर्नेसम्मको समस्या हुने भएकोले नयाँ वर्षको बिदालाई सदुपयोग गर्दै कारागारभित्रै स्वास्थ्य शिविर आयोजना गरिएको मेसु बाराकोटीले बताउनुभयो ।
शिविरमा मेची अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ तथा मेसु बाराकोटीको नेतृत्वमा फिजिसियन डा. मनिष सुवेदी, डा. आकाश कोइराला, छाला रोग विशेषज्ञ डा. केशव ढकाल, मानसिक रोग विशेषज्ञ डा. शंशाकराज पोखरेल, बाल रोग विशेषज्ञ डा. रविन रेग्मी, कन्सल्टेन्ट सर्जन डा. शाम्भवी शर्मा, नसा तथा बाथ रोग विशेषज्ञ डा. विजय भुजेल, स्त्री रोग विशेषज्ञ डा. विजय ओझालगायतको टोलीले कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको थियो ।
हाल झापा कारागारमा महिला र पुरुष गरी १३ सय बढी कैदीबन्दी रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्