तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छ : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताउनुभएको छ ।

एमाले विराटनगर महानगरद्वारा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताउनुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।उहाँले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधिविहीन स्थानीय पालिका बनाउने षड्यन्त्रलाई नेपाली जनताले नमान्ने बताउनुभयो । 

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको तथा विभिन्न विमानस्थलको विस्तार गरी राति सेवा सञ्चालन गराएको दाबी गर्नुभयो । उहाँले पाँच दलीय गठबन्धनले मुलुकको अर्थतन्त्र धराशायी बनाएको आरोप लगाउँदै निर्माण सम्पन्न गरेका विभिन्न ठेकेदारले भुक्तानी नपाएकोमा गुनासो गर्नुभयो । 

अध्यक्ष ओलीले विसं २०५१ मा मासिक रु १०० देखि सुरु गरेको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले दैनिक रु १३३ कायम भएको र कर्मचारीको सहज जीवनयापनका लागि तलब वृद्धिसमेत गरेको स्मरण गराउनुभयो । 

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button