आचारसंहिताको पूर्ण पालनाका लागि आयोगको ध्यानाकर्षण
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालनाका लागि राजनीतिक दल, नेता, कार्यकर्ता एवं सम्बद्ध सबैलाई पुनः स्मरण गराएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गरी यही चैत २५ गतेदेखि लागू गरिएको आचारसंहिताको पूर्ण पालनाका लागि ध्यानाकर्षण गराएको हो ।
आयोगले जारी गरेको आचारसंहितामा राजनीतिक दलको जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ ।
साथै उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३ बाइ ३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचार प्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य दृश्य सामग्री बजाउन र श्रव्य दृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने व्यवस्था छ ।
यसैगरी निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने प्रावधान आचारसंहितामा रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्