प्रदेश १ पालिका स्तरीय भलिबलको उपाधि षडानन्द नगरपालिकालाई
धनकुटा । धनकुटा १ हिलेमा सञ्चालित प्रदेश १ पालिका स्तरीय १५ औँ रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन षडानन्द नगरपालिका, भोजपुरले हात पारेको छ ।

रामनवमीको अवसरमा हिले भलिबल क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा षडानन्द नगरपालिकाले झापा गाउँपालिकालाई २५–१८, २५–१४ र २५–२२ ले जित्दै उपाधि हात पारेको हो ।
जितसँगै षडानन्दले नगद १ लाख २१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको झापाले नगद ६१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

प्रतियोगिताको विजयी टोलीलाई धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, नेपाली सेना पूर्वी पृतना हेडक्वार्टर प्रमुख, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख, सशस्त्र प्रहरी बल ६ नं छिन्ताङ गुल्म प्रमुख लगायतले पुरस्कार वितरण गर्नुभएको आयोजक क्लबका अध्यक्ष सञ्जिप तितुङले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्