मिथिला नाट्य कला परिषदद्वारा “गाम नै सुतैय” नाटक मञ्चन

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको “जनकपुरधाम साहित्य कला तथा नाट्य महोत्सव २०७८” अन्तर्गत आज जनकपुरधामका प्रसिद्ध नाट्य संस्था मिथिला नाट्य कला परिषद्ले “गाम नै सुतैय” भन्ने नाटक मञ्चन गरेको छ ।
वर्तमान सामाजिक, राजनीतिक तथा प्रशासनिक अवस्थाका बारेमा नाटककारले नाटक मार्फत गहिरो सन्देश दिनमा सफल भएका छन् । मैथिलीका प्रसिद्ध नाट्य लेखक महेन्द्र मलंगीयाद्वारा लिखित उक्त नाटकमा मिथिला नाट्य कला परिषद्का कलाकारहरूले सजिव अभिनय गरेका थिए ।

मिथिला नाट्य कला परिषद्का अध्यक्ष परमेश झाले निर्देशन गर्नु भएको नाटकमा जनबलको अगाडि कुनै गलत कुरा नटिक्ने सन्देश दिएका छन् । जतिसुकै जालझेल गरेपनि सही कुराका लागि गाउँका मान्छेहरू एक भएको खण्डमा जनताकै जीत हुन्छ भन्ने सन्देश नाटकले दिएको छ । नाटकमा अहिलेका परिवेशलाई चित्रण गरिइएको छ ।
नाटकमा समाजको हरेक अवस्थाको सजिव चित्रण नाटक मार्फत गरिएको थियो । अहिलेको अवस्थामा युवा पीढीमा देखा परेको नकारात्मक प्रभाव तथा शोचका बारेमा नाटकले सन्देश दिँदै त्यसले ल्याएको सामाजिक विकृति एवं विसङ्गतिका बारेमा चित्रण सहित समाधानका विषयमा पनि सन्देश प्रवाह गर्नमा नाटकका लेखक सफल भएको पाइन्छ ।

नाटकमा सबै प्रकारको दृश्य तथा अवस्था भएकाले दर्शकलाई मन्त्रमुग्ध बनाउनुका साथै समय व्यतित भएको अनुभूति नै भएका थिएन । नाटकमा मञ्चको व्यवस्थापन नेपाल नाट्य कला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ रमेश रञ्जन झाले गर्नु भएको थियो ।
नाटकमा मिथिला नाट्य कलापरिषदका वरिष्ठ कलाकारहरू सुनिल कुमार मिश्र, मदन ठाकुर, विष्णुकान्त झा, परमेश झा, गङ्गाकान्त झा, अनिता रानी मण्डल, ज्योति झा, राजेश पासवान सहितका कलाकारहरूले सशक्त अभिनय गरेका थिए ।
नाटकमा अभिनय गरेका कालाकारहरूलाई मधेस प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मानित गर्नु भएको थियो । कार्यक्रममा बोल्दै मन्त्री महतोले मिथिला नाट्य कलापरिषद्का कलाकारहरूले गरेको अभिनयको सराहना गर्दै सामाजिक, राजनीतिक तथा अन्य क्षेत्रमा भएका विकृतिहरूलाई एकसाथ उजागर गर्नमा सफल भएको बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्