तपाईँ सुन्दै हुनुहुन्छः

एसिड पीडित महिलाको उपचारमा समस्या

बीरगंज । पर्साको बहुदरमाई नगरपालिका–२ बैरियाविर्ता घर भई बाराको कलैया बस्दै आएकी २८ वर्षीया एसिड आक्रमणबाट घाइते सीता भनिने कविता पटेलको आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ । 

चैत ११ गते कलैया उपमहानगरपालिका वडा नम्बर २३ कोरिया टोल नजिकै उनीमाथि एसिड आक्रमण भएको थियो । 

जेठाजु रामबाबु साह र ससुरा हवारी साहसहित नचिनेका अन्य दुई जना मानिसले सितामाथि एसिड प्रहार गरेका थिए । 

घटनाको दिन वीरगञ्जमा वकिलसँग भेटेर स्कुटरमा डेरा फर्कने समयमा उनीहरूले पिछा गरेको र घेरा हालेर एसिडले आक्रमण गरेको तथा गरगहना र नगद लुटेर भागेको आरोप सिताको छ । 

प्रहरीले सिताका जेठाजु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । 

उनीहरूले प्रहरीसमक्ष आफूहरूले एसिड आक्रमणमा संलग्नता नरहेको बयान दिएका छन् । २०७८ साउन २४ गते सीताले जगरनाथपुर गाउँपालिका–६ बस्ने २४ वर्षीय उमेश साह गोढसँग अदालती विवाह गरेकी थिइन् । 

विवाह भएको एक साता पछिदेखि नै उनको परिवारसँगको सम्बन्धमा खटपट आएको थियो । भदौ २० गते श्रीमान उमेशले विवाह बदरको मुद्दा दिएका थिए । त्यसपछि उनले अंश, घरेलु हिंसा र ज्यान मार्ने उद्योग विरुद्धको मुद्दा दर्ता गरेकी थिइन् । 

उनी विरुद्ध झुटो विवरण पेस गरेर नागरिकता लिएको भन्दै मुद्दा पनि चलिरहेको छ । एकातिर मुद्दा मामिला, अर्कोतिर एसिड प्रहारबाट घाइते सीताको वीरगञ्जस्थित नारायणी अस्पतालको सर्जिकल वार्डमा उपचार भइरहेको छ । 

तर आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको चिकित्सकहरूले बताएका छन् । एसिड आक्रमणबाट शरीरको पछाडिको अधिकांश भाग जलेको छ । आर्थिक अभावको कारण उनको उपचार राम्रोसँग हुन नसकेको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button