बारको अध्यक्षमा घिमिरेको अग्रता

काठमाडौँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिनुभएको छ ।
हालसम्म ३३ केन्द्रको मतगणना गर्दा उहाँले दुई हजार २१५ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार १२२ प्राप्त गर्नुभएको छ ।
प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म ३३ केन्द्रको मतगणना सम्पन्न भएको छ । आजदेखि आठ स्थानमा मतगणना भइरहेको छ ।हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गर्नुभएको समूहको अग्रता कायम छ ।
महासचिवमा अञ्जिता खनालले एक हजार ९५१मत ल्याउनुभएकामा उहाँको प्रतिस्पर्धी केदारप्रसाद कोइरालाको मत एक हजार ३०० छ । कोषाध्यक्षमा भरतबहादुर राउतले दुई हजार १५१मत ल्याउनुभएकामा उहाँका प्रतिस्पर्धी जगतबहादुर कार्कीले एक हजार १७५ मत प्राप्त गर्नुभएको छ ।
मङ्गलवार बिहानदेखि मतगणना सुरु भएको थियो । आज बिहान ९ बजेदेखि पुनः मतगणना भइरहेको छ । शुक्रवारसम्म सम्पूर्ण नजिता आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिनुभयो ।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेकामा सात हजार ४२९ मत खसेको थियो ।रासस







प्रतिक्रिया राख्नुहोस्