मेयरकपको उपाधि बान्नीगढी जयगढलाई

अछाम । अछामको मंगलसेनमा सम्पन्न मेयर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि बान्निगढी जयगढ गाउँपालिकाले उचालेको छ । मङ्गलसेन नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा आयोजक मङ्गलसेन नगरपालिकालाई पराजित गर्दै बान्निगढीले उपाधि उचालेको हो ।
प्रतियोगिताको विजेता बनेसँगै बान्निगढीले नगद १ लाख ११ हजार १ सय ११ सहित कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको मङ्गलसेन नगरपालिकाले नगद ५५ हजार ५ सय ५५ सहित कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरि तेस्रो स्थान हासिल गरेको मेल्लेख गाउँपालिकाले नगद ३३ हजार ३ सय ३३ सहित कप मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्न सफल साँफेबगर नगरपालिकाले नगद ११ हजार १ सय ११ सहित कप तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
जिल्ला भरिका १० पालिका मध्ये ८ वटा पालिकाबाट १० टिमको सहभागितामा सञ्चालन भएको प्रतियोगिताको समापन समारोहमा सर्वोत्कृष्ट खेलाडी सहित विभिन्न विधामा उत्कृष्टता हासिल गर्न सफल खेलाडीहरूलाई नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।
यस्तै प्रतियोगितामा पालिका स्तरीय टिम सहभागी गराई प्रतियोगिता सफल पार्न महत्त्वपूर्ण सहयोग गरेको भन्दै आयोजक मङ्गलसेन नगरपालिकाले सहभागी सबै स्थानीय तहहरूलाई सम्मान पत्रद्वारा सम्मान गर्नुका साथै खेलकुद प्रतियोगिताका रेफ्रि तथा व्यवस्थापक र स्वयंसेवकलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको समापन समारोहमा प्रतिनिधिसभा सदस्य यज्ञ बोगटी प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति सदस्य टोप बहादुर रावल रहनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्