प्रधानमन्त्री देउवासँग भारतका विदेश मन्त्रीद्वारा शिष्टाचार भेट
काठमाडौँ । भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेश मन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गर्नुभएको छ ।

आजै प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी भाजपाको केन्द्रिय कार्यालय पुगेर भाजपा नेताहरूसँग समसामयिक विषयमा विचार विमर्श गर्नुभएको छ ।
भारत भ्रमणको दोस्रो दिन भोलि प्रधानमन्त्री देउवाले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुहुने छ भने प्रधानमन्त्री मोदीले उहाँको सम्मानमा आयोजना गर्नुहुने दिवा भोजमा सहभागी हुनुहुने छ ।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेल सेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु कोरिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट जानकारी लिनुहुने कार्यक्रम छ ।

भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा आज अपराह्न नयाँ दिल्ली पुग्नु हुँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा लगायत उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

यसअघि आजै नयाँ दिल्ली प्रस्थान गर्नुहुँदा प्रधानमन्त्री देउवालाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत उच्च अधिकारीले बिदाइ गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्