धनगढीमाई नगरपालिकामा प्राकृतिक अस्पताल सञ्चालन

लहान । सिराहाको धनगढीमाई नगरपालिकामा प्राकृतिक रूपबाट बिरामीलाई सेवा दिने उद्देश्यले आजबाट प्राकृतिक अस्पताल सुरु गरिएको छ ।
नगरप्रमुख हरिनारायण चौधरीको प्रमुख आतिथ्यमा प्राकृतिक स्वास्थ्य अस्पतालको नवनिर्मित भवनको उद्घाटन तथा सेवा प्रवाहको शुभारम्भ गरिएको हो ।
अस्पतालको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्नुहुँदै नगरप्रमुख चौधरीले नाफा कमाउनुभन्दा पनि नागरिकलाई सहज रुपमा प्राकृतिक रूपले सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो ।
उहाँले अस्पतालमा नशा सम्बन्धी रोग, बाथ रोग, ढाड सम्बन्धी रोग , दीर्घ रोगहरू डायबिटिज, थाईराईड लगायतका रोगहरू प्राकृतिक विधिद्वारा उपचार गरिने बताउनुभयो।
यस अस्पतालमा विभिन्न प्रकारका रोगहरू प्राकृतिक पद्धतिबाट उपचार गरिने भएकाले उपचार समेत सस्तो हुने भन्नुहुँदै प्रमुख चौधरीले भन्नुभयो, “अस्पतालमा थेरापी, योग, मसाज थेरापी, एकुपेन्सर, डाइटिङ्ग, जीवनशैलीमा कसरी सुधार ल्याउन सकिन्छ भनेर काउन्सिलिङबाट उपचार गरिने छ।”
पछिल्लो समय प्राकृतिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । निर्वाचित हुँदा अस्पताल सञ्चालनमा ल्याउँछु भनेर गरेको प्रतिबद्धता आज पूरा भएको भन्दै नगरप्रमुख चौधरीले खुसी व्यक्त गर्नुभयो।
कार्यक्रममा अस्पताल निर्माणमा संरक्षण तथा व्यवस्थापन गर्नुहुने समाजसेवी व्यक्तिहरूलाई नगर प्रमुख चौधरीले गम्छा ओढाएर स्वागत तथा सम्मान गर्नुभएको थियो ।
उद्घाटन समारोहमा नगरपालिकाका उप प्रमुख फुलकुमारी श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले, नगरपालिकाका प्रवक्ता प्रकाश योन्जन तामाङ, प्राकृतिक स्वास्थ्य अस्पतालका चिकित्सक एलिसा काफ्ले , विभिन्न शाखाका शाखा प्रमुख ,कार्यपालिका सदस्य, जनप्रतिनिधिहरू लगायत अस्पतालका सञ्चालक समितिहरूको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्