भुम्लु गाउँपालिकाद्वारा सिन्धुपाल्चोकका बाढी प्रभावित तीन पालिकालाई आर्थिक सहयोग

सिन्धुपाल्चोक । काभ्रेको भुम्लु गाउँपालिकाले यहाँका तीन वटा पालिकालाई आर्थिक सहयोग गरेको छ ।
भुम्लु गाउँपालिकाले असार १ तथा त्यसपछिको मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीबाट प्रभावित पालिकाहरूलाई आर्थिक सहयोग गरेको हो ।
शुक्रवार मेलम्ची नगरपालिकालाई दुई लाख, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई तीन ÷तीन लाख रकम हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ लगायतको टोलीले आज सम्बन्धित पालिकामै पुगी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीलाई हस्तान्तरण गर्नुभएको हो ।
उपाध्यक्ष श्रेष्ठले पालिकाले केही समयअघि सहयोग गर्ने निर्णय गरिएको र सो सहयोग आज हस्तान्तरण गरिएको बताउनुभयो ।

तीन वटै पालिकाले सहयोगप्रति आभार प्रकट गरेका छन ।
यसैबीच मेलम्ची नगरका प्रमुख डम्बर अर्याल, हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा तथा पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले केही राजनीतिक दलले सहयोग रकम प्रतिबद्धता गरेकोमा अहिलेसम्म प्राप्त नभएको भन्दै यथाशक्य छिटो रकम उपलब्ध गराउन माग गर्नुभएको छ ।
असार १ तथा त्यसपछिको मेलम्ची, इन्द्रावती तथा याङ्री, लार्के खोलामा आएको बाढीले ठुलो जनधनको क्षति पुर्याएको थियो ।







प्रतिक्रिया राख्नुहोस्