पत्रकार महासङ्घको स्थापना दिवस: जुम्लामा सुत्केरीलाई फलफूल वितरण
जुम्ला । नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ, जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका सुत्केरीहरूलाई फलफूल वितरण गरेको छ ।

महासङ्घका अध्यक्ष नेत्र बहादुर शाहीसहित जिल्लास्थित पत्रकारहरूको उपस्थितिमा अस्पतालका २५ जना सुत्केरीलाईलाई फलफूल वितरण गरिएको हो ।
सुत्केरी महिलाको स्वास्थ्य लाभको कामना गर्दै सुन्तला, केरा लगायतका फलफूल वितरण गरिएको नेपाल पत्रकार महासङ्घका सचिव मानदत्त रावलले बताउनुभयो । उहाँले आगामी दिनमा पत्रकार महासङ्घले सामाजिक हितका कार्यलाई बढाउँदै जाने उल्लेख गर्नुभयो ।
महासङ्घको स्थापना दिवसका अवसरमा अध्यक्ष नेत्रबहादुर शाहीले जुम्लामा उर्वर रुपमा उदाइरहेको पत्रकारिताको संरक्षण तथा पत्रकारहरूको अधिकारको विषय महासङ्घको पहिलो प्राथमिकता हुने बताउनुभयो ।
स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगीले महासङ्घले सामाजिक काम गरेको देख्दा खुसी लागको बताउनुभयो ।

महासङ्घका पूर्व अध्यक्ष भीम कसिङ्गरले पत्रकारिता क्षेत्रमा खोजमूलक पत्रकारिता जोड दिनुपर्ने बताउनुभयो ।
शुभकामना दिँदै प्रेस सेन्टरका अध्यक्ष धनबहादुर बुढाले महासङ्घ र सञ्चार माध्यमको सहकार्य थप बलियो हुनुपर्ने बताउँदै पत्रकारहरूलाई क्षमता विकास तालिम दिनुपर्ने बताउनुभयो ।
प्रेस चौतारीका प्रदेश सदस्य तथा रेडियो कर्णालीका सम्वाददाता कालीबहादुर नेपालीले महासङ्घले गरेका राम्रा कामहरूको प्रशंसा गर्दै आगामी दिनमा थप राम्रो गर्नुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्