कृषकलाई हाते ट्याक्टर र पानी तान्ने मोटर वितरण

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र पानी तान्ने मोटर वितरण गरेको छ ।
गाउँपालिकाले कुल ३२ लाख २० हजार मूल्य बराबरको ४६ वटा हाते ट्याक्टर वितरण गरेको गाउँपालिका कृषि शाखा प्रमुख प्रतिज्ञा देवकोटाले जानकारी दिनुभयो ।
यस्तै पानी तान्ने मोटर १३ वटा समेत पालिकाले वितरण गरेको छ ।
सामाग्री वितरण कार्यक्रममा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा कृषि सामाग्री वितरण गरेको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताउनुभयो ।
निर्वाहमुखी कृषि क्षेत्रलाई व्यवसायीक कृषितर्फ उन्मुख गराई कृषि क्षेत्रको उत्पादनमा वृद्धि गर्ने पालिकाको नीति बमोजिम ५० प्रतिशत अनुदानमा सामाग्री वितरण गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले हाते ट्याक्टर र पानी तान्ने मोटरको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिकाले यसअघि पनि कृषकलाई लक्षित गरी विभिन्न अनुदानका सामाग्री वितरण गर्दै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख अधिकारीका अनुसार पछिल्लो समय गोरु पाउन मुस्किल परेको र युवा पुस्ता विदेश पलायन भएकाले खेतीयोग्य जमिन बाँझो बनेको स्थानीयको गुनासो छ ।
हाते ट्याक्टरले बाँझो खेत जोत्न सहज हुने भएकाले कृषकलाई हाते ट्याक्टरको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्