मुख्यमन्त्री कार्यालय क्षेत्रको निषेधित ठाउँमा प्रदर्शन गर्ने २९ जना पक्राउ

जनकपुरधाम । विभिन्न माग सहित मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेस भवन आज घेराउ गर्नका लागि पुगेका मध्ये २९ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्नका लागि पुगेका चुरे तथा वन जङ्गल संरक्षण अभियान्ताहरुलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको आन्दोलनमा सहभागी सरोज रायले जानकारी दिनु भयो ।
सिरहा जिल्लाको मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनका नाउँमा व्यक्तिले कब्जा गरेर बिक्री गरेको विषयमा छानबिनका लागि प्रदेश सरकारसँग विगतमा अभियान्ताले गरेको आन्दोलनपछि बनेको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै विरोध प्रदर्शनमा उत्रेका छन् ।
साथै उनीहरूले भूमिहीन, दलित तथा सुकुम्वासीको समस्या शीघ्र समाधान गर्नका लागि पनि माग गरेको छ । अहिले भूमिहीनका लागि वितरण गरेको जग्गा धनी पुर्जा सबै समुदायका भूमिहीनले नपाएको जस्ता विषयमा नाराबाजी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवन घेराउ गर्नका लागि पुगेपछि प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिँदा झडप पनि भएका थिए ।
निषेधित क्षेत्रमा जुलुस, हडताल तथा नाराबाजी गर्न नमिल्ने भएकाले प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । जनकपुरधामको रेल्वे स्टेशनबाट ब्यानर, पोस्टकार्ड सहित नाराबाजी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्रमा चुरे संरक्षण अभियान्ताहरु पुगेका थिए ।







प्रतिक्रिया राख्नुहोस्