तपाईँ सुन्दै हुनुहुन्छः

गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ ।विभिन्न राजनीतिक दलका नेता तथा उद्योगी व्यवसायीले नेपालमा लगानीको उचित वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गर्नुभएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापनका अवसरमा आयोजित कार्यक्रमका वक्ताले विश्वभर छरिएर रहेका नेपालीले आर्जन गरेको सीप, पुँजी र प्राविधिक ज्ञानलाई नेपालको विकासका निम्ति लगानी भित्र्याउन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विदेशमा रहेका नेपालीले स्वदेशमा लगानी भित्र्याउने उपयुक्त वातावरण बनेको भन्दै त्यस प्रयोजनका निम्ति आवश्यक सहजीकरण गर्न सरकार तथा राजनीतिक दल तत्पर रहेको धारणा राख्नुभयो । काँग्रेसकै महामन्त्री गगनकुमार थापाले नेपाललाई समुनत बनाउन गैर आवासीय नेपालीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै थोरैभन्दा थोरै लगानीमैत्री वातावरण बनाउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

संविधानसभाका पूर्व सभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले नेपालमा जस्तो सुकै असहज र कठिन अवस्था आइपर्दा नेपालका राजनीतिक दल एक ठाउँमा उभिएर सुजबुझपूर्ण निर्णय गर्दै आएको स्मरण गराउँदै अहिले पनि असहमतिका विषयलाई एकै थलोबाट समाधान खोज्ने वातावरण रहेको उल्लेख गर्नुभयो । उहाँले संविधानले सुनिश्चितता गरेको गैर आवासीय नेपालीको नागरिकतासम्बन्धी विषयलाई छिट्टै कानुन बनाएर सम्बोधन गर्न पनि राजनीतिक दल एकमतका साथ लाग्ने विश्वास दिलाउनुभयो ।

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नयाँ पूर्वाधार, शिक्षा, आधुनिक प्रविधिको नयाँ क्षेत्रको व्यवसायमा लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गर्नुभयो । गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र अर्का अध्यक्ष जिवा लामिछानेले मातृभूमिको समृद्धिका निम्ति सङ्घ सदैव प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण सिर्जना भएको भन्दै जलविद्युत्, पूर्वाधार, पर्यटन, जडीबुटी आदि क्षेत्रमा लगानी गर्न र विदेशी लगानी भित्र्याउन पनि गैर आवासीय नेपालीलाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button