लगानी प्रवर्द्धन गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ र लगानी बोर्डबीच समझदारी

काठमाडौँ । नेपालमा स्वदेशी तथा विदेशी निजी लगानी प्रवर्द्धन गर्ने उद्देश्य सहित लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासङ्घ बीच समझदारी भएको छ ।
समझदारी पत्रमा लगानी बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नेपाल उद्योग वाणिज्य महासङ्घका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गर्नुभयो ।
नेपालमा निजी लगानी तथा सार्वजनिक निजी साझेदारीको प्रवर्द्धन गर्न दुवै पक्षले साझा हित र सरोकारका विषयमा सहकार्य गरी आपसी समझदारीको विकास गर्ने समझदारी पत्रमा उल्लेख छ ।
नेपालमा लगानीका अवसरहरू खोज्ने लगानीकर्ताहरूलाई केन्द्रित गर्दै महासङ्घमा प्रत्यक्ष विदेशी लगानी सहयोग कक्ष हेल्प डेस्क स्थापना गर्ने र त्यसका लागि लगानी बोर्डले महासङ्घलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ समझदारी पत्रमा महासङ्घले लगानी बोर्डलाई रोड सो र नेपाल इन्भेस्टमेन्ट समिट २०२२ आयोजना गर्न समेत सहयोग गर्नेछ ।
हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सरकारले नागरिकमा ऋणको भार नबोकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि वैदेशिक ऋणलाई लगानीका रुपमा लिइने र ऋणको दायित्व सम्बन्धित परियोजनाको पुँजी निर्माणबाट व्यहोर्ने नीतिगत, कानुनी र व्यवहारगत संरचना निर्माण गर्दै जाने बताउनुभयो ।
अर्थमन्त्री शर्माले अव ठुला पूर्वाधारका परियोजनामा समेत लगानी केन्द्रित गर्दै समय र लागत कम गर्ने खालका पूर्वाधार विकासमा जोड दिन आग्रह गर्नुभयो कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पूर्वाधार विकासका क्षेत्रमा विदेशी तथा आन्तरिक लगानी परिचालनका लागि तल्ला तहका सरकारसम्म समन्वय गर्ने लगानी बोर्डको जिम्मेवारीलाई थप परिभाषित गर्न महासङ्घसँगको समझदारीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले देशको विद्यमान शोधनान्तर घाटा, व्यापार घाटा जस्ता संकट समाधान गर्न लगानीका क्षेत्रहरू र स्रोतहरू खोजी गर्नुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्