तपाईँ सुन्दै हुनुहुन्छः

सेयर सचेतना अभियान अन्तर्गत देशभरका विभिन्न स्थानमा बजारसम्बन्धी तालिम हुँदै

काठमाडौँ । देशका विभिन्न स्थानहरूमा सेयर बजार सम्बन्धी तालिम सञ्चालन हुने भएको छ । अर्थ सरोकारको आयोजना र अन्य विभिन्न सङ्घ,संस्थाहरूको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरूमा सेयर बजारसम्बन्धी तालिम आयोजना हुन लागेको हो । 

तालिम धेरैजसो ठाउँमा निःशुल्क आयोजना गरिएको छ भने कतिपय ठाउँमा भने निश्चित शुल्क लिएर सेयर बजार सम्बन्धी तालिम सञ्चालन हुन लागेको सेयर सचेतना अभियानका आयोजक अर्थ सरोकारका प्रमुख सुरज प्याकुरेलले बताउनु भएको छ ।

अभियान अन्तर्गत रुकुम, विराटनगर, धरान, दमक, चितवन, जनकपुर, वीरगंज, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, सुर्खेत र धनगढीमा सेयर बजार सम्बन्धी तालिम सञ्चालन हुने भएको हो । सो तालिममा सेयर बजारका पुराना तथा अनुभवी लगानीकर्ता एवम् सेयर बजार विश्लेषक सुवास चन्द्र भट्टराईले तालिम प्रदान गर्नु हुने छ, भने कार्यक्रमलाई स्थानीय सङ्घ संस्थाले सह आयोजना गर्नेछन् ।

सेयर बजार सम्बन्धी सचेतनाको कमी भएकै कारण धेरै लगानीकर्ताहरू सेयर बजारको उच्च विन्दुमा फसेको स्थितिमा यस्ता तालिमले विशेष गरी नयाँ तथा साना लगानीकर्ताहरूलाई सहयोग गर्ने विश्वास आयोजकको छ । अभियानको सुरुवात यही चैत्र १९ गते रुकुमको मुसिकोटमा सेयर बजार सम्बन्धी तालिम सञ्चालन भएसँगै हुँदैछ भने त्यसपछि भक्तपुर, ललितपुर, पोखरा, चितवन लगायतका स्थानमा सेयर बजार सम्बन्धी सचेतना अभियान सुरु हुने अभियान तथा अर्थ सरोकारका प्रमुख प्याकुरेलले जानकारी दिनु भएको छ ।

पछिले समय देशभर सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ । झन्डै ५० लाख हाराहारीले डिम्याट खाता खोलिसकेको परिप्रेक्षकमा यो तालिम सबैका लागि उपयोगी हुने विश्वास आयोजकको छ । 

सेयर बजारको सो तालिम सम्बन्धी विस्तृत जानकारीका लागि अर्थ सरोकारको सम्पर्क नम्बर ९८५११८४९९१ मा सिधा सम्पर्क गर्न सकिने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button