घरदैलोमा पुगेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण
सल्यान । सल्यानमा घरदैलोमा ज्येष्ठ नागरिकहरूको पुगेर स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्लाको कपुरकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर भेटघाट तथा स्वास्थ्य चेकजाँच गरेको हो । पालिकाभित्रका २ सय १९ महिला र १ सय ५९ पुरुष गरी ३ सय ७८ ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गर्नुका साथै औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा न १ मा ६४, २ मा २९, ३ मा ३९, ४ मा ५७, ५ मा ७४ र ६ मा १०४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको स्वास्थ्य शाखाका सि. अहेब सुवास हमालले जानकारी दिनुभयो ।
घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गर्दा धेरै जसो ज्येष्ठ नागरिकलाई सामान्य प्रेसर, दम, ग्यास्ट्रिक, हाड जोर्नी दुख्ने जस्ता समस्या देखिएको रिम स्वास्थ्य चौकी कपुरकोट ५ मा अहेब टिकाराम न्यौपानेले बताउनुभयो ।
गाउँपालिकाको नीति अनुसार नै स्वास्थ्यकर्मीहरूलाई ज्येष्ठ नागरिकको घरदैलोमा खटाएको गाउँपालिका अध्यक्ष भीम बहादुर सेनको भनाइ छ ।
हिँडेर स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकहरूले घरमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा निकै खुसी भएको पालिकाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्