समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागिपरेको छ : अध्यक्ष नेपाल
गोरखा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताउनुभएको छ ।
गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले नेकपा एमालेको अब कुनै राजनीतिक भविष्य नभएकाले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको हो ।
“हामीले जनसेवाको भावनाले ओतप्रोत भएर गरिब र दीन दुःखी जनता, विपन्न, बेसहारा, दलित र अत्याचारमा परेका नेपाली तथा जुनसुकै वर्ग समुदायका देशभक्त नेपालीको हितको कल्याण गर्ने पार्टी निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यो पवित्र भावले लाग्दा खेरी यो पार्टीको भविष्य रहन्छ ।”
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको ओइरो लागेको बताउनुहुँदै आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर देशभर चलिरहेको छ भन्नुभयो । “नक्कली सोच र विचारले केही हुनेवाला छैन, अबको स्थानीय तहको चुनावले त्यसको फैसला गर्नेछ”, उहाँले भन्नुभयो, “एकीकृत समाजवादी क्रान्तिकारी सोचका साथ अघि बढेको छ, समाजवाद, विकास र समृद्धिका निम्ति देशभक्तिको झण्डा उठाएका छौँ ।” रासस







प्रतिक्रिया राख्नुहोस्