नागरिकता विधेयकका सम्बन्धमा गृह मन्त्रालयमा छलफल
काठमाडौँ । नागरिकताको प्रमाणपत्र लिनबाट वञ्चित नेपाली नागरिकलाई कसरी सहज रुपमा नागरिकता प्रदान गर्न सकिन्छ भन्ने विषयमा सरकारी अधिकारीबिच गृह मन्त्रालयमा छलफल भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा भएको छलफलमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा दलहरूबिच भएको सहमतिलाई के/कसरी कार्यान्वयन गर्ने सन्दर्भमा छलफल भएको हो ।

सरकारले नागरिकता जस्तो संवेदनशील विषयमा दलीय सहमति जुटाउन निरन्तर वार्ता र छलफल गर्दै आएको छ । नागरिकताको प्रमाणपत्र नपाएर कैंयौं विद्यार्थी तथा युवा युवती राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित भएका छन् । नागरिकता नपाएकै कारण उनीहरूले शिक्षा र रोजगारी प्राप्तिमा विभिन्न समस्या झेल्दै आएका छन् ।
सरकारले त्यस्ता नागरिकको आवाजलाई सम्बोधन गर्न सकिन्छ भनी विभिन्न कोणबाट छलफल र पहल गरिरहेको छ ।
छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृह सचिव टेकनारायण अर्याल लगायत सहभागी हुनुहुन्थ्यो ।







प्रतिक्रिया राख्नुहोस्