तपाईँ सुन्दै हुनुहुन्छः

वसन्तपुरमा होलीको रौनक

काठमाडौँ । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन् । 

विश्व सम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर यस वर्षको होलीमा भने खचाखच भरिएको छ । यहाँ होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता  छ । 

उनीहरूले एक अर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी पर्व मनाएका छन् ।  वसन्तपुरमा मात्रै होइन सहरका विभिन्न स्थानमा यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका छन् ।   

दुर्घटनारहित बनाउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेसँगै मर्यादित रुपमा पर्व मनाइएको छ । यसअघिको जस्तो एक हप्ताअघिदेखि बाटोमा हिँड्ने नागरिकले खेप्नुपर्ने सास्ती भने यस वर्ष सामना गर्नु नपरेको वसन्तपुरमा होली खेल्न आउनुभएका दीक्षा कपाली बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “आज होलीकै दिन पनि खेल्न नचाहनेलाई बाध्यात्मक अवस्था छैन हुलमै पुगेर पनि बच्न सक्ने अवस्था छ ।” काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्नका लागि एक हजार ३०० ट्राफिक प्रहरीलाई खटाइएको र नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रबन्ध मिलाइएको महाशाखाले जनाएको छ ।

यस पर्वको मौका छोपी उच्छृङ्खल तथा अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकल चलाउँदा हेलमेट नलगाउने, मोटरसाइकलमा क्षमताभन्दा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ वा लोला हान्नेलाई कालीमाटी चोक, त्रिपुरेश्वर चोक, कलङ्कीलगायत सहरका मुख्य स्थानमा सवारीलाई चेक गरी प्रहरीले कारबाही गरेको छ । 

पहाडी जिल्लामा आज मनाइएको यस पर्व तराईमा भने भोलि मनाइनेछ । होलीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button