तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न विभिन्न कार्ययोजना अघि सारेको छ : मन्त्री भुसाल 

बारा । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालले सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न विभिन्न कार्ययोजना अघि सारेको बताउनुभएको छ । 

नेकपा माओवादी केन्द्र जीतपुरसिमरा उपमहानगर कमिटी, बाराले आज सिमरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । कृषि क्षेत्रमार्फत देशको अर्थतन्त्र बलियो बनाउन सकिने भन्दै उहाँले दीर्घकालीन योजनाका साथ आफ्नो मन्त्रालय अघि बढ्ने बताउनुभयो । 

उहाँले ऊर्जा क्षेत्र पनि आफ्नो मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले नेपाल सरकारसँग पर्याप्त बिद्युत् भएकाले बिद्युत् अपुग भन्दा खपतको चिन्ता रहेको बताउनुभयो । मन्त्री भुसालले तेलबाट चल्ने उपकरण भन्दा बिद्युतबाट चल्ने उपकरणको प्रयोग गर्नुपर्ने सल्लाह दिनुभयो ।  बढी भएको बिद्युतलाई बिक्री गर्नका लागि भारतसँग कुराकानी भइरहेको जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)की नेतृ समेत रहनुभएकी भुसालले आगामी निर्वाचनमा माओवादी केन्द्रको उपस्थिति बलियो हुने दाबी गर्नुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल श्रेष्ठ, नेताहरू जयराम दहाल, सोनालाल साह, राजन पौडेल, नेतृ गीता कँडेल, वरिष्ठ पर्यटन व्यवसायी युवराज लामा, सिमरा बिद्युत् प्राधिकरणका प्रमुख रामु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन माओवादी केन्द्र जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष प्रेम बरालले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button