‘महिला र बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रण गर्न सबैको पहल आवश्यक’
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामैत्री कानूनी व्यवस्थाबाट महिलाको आर्थिक र सामाजिक अवस्थामा सुधार आए तापनि महिला र बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रण गर्न सबै पक्षको पहल आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित बढ्दो बलात्कारका घटनाका विषयमा सरोकारवाला निकाय पदाधिकारी तथा विशेषज्ञबिचको छलफलमा उहाँले पछिल्लो पटक महिला हिंसा, बालबालिकामाथि हुने गरेका अपराधमाथि भइरहेका घटनाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ताको कानूनी व्यवस्था र उपचारात्मक पक्षबाट सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले महिला हिंसा र बालबालिकामाथि हुने जघन्य अपराधको नियन्त्रणका लागि महिला र बालबालिकासम्बन्धी विद्यमान कानूनलाई सामूहिक सुधार गर्न आवश्यक रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले महिला र बालबालिकामा हुने अपराधको वास्तविक समस्याको गहिराइमा पुगेर अनुसन्धान, अभियोजन र कारबाही प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले बालबालिकाको विवाह गर्ने उमेर घटाउन नहुने बताउनुभयो । उहाँले हरेक स्थानीय तहमा सबैको सहभागितामा बलात्कार र महिला हिंसा न्यूनीकरण गर्नका लागि सर्वदलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका नेता पुष्पा भुसालले महिलाविरुद्ध बनेका विभेदकारी कानून संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड जस्तै कठोर सजाय दिनुपर्ने बताउनुभयो ।
कानुनविद् डा. विपिन अधिकारीले महिला र बालबालिकामाथि हुने हिंसा राज्यले मात्र नियन्त्रण गर्न नसक्ने भएकाले समाजको पनि भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले राष्ट्रपतिले महिला हिंसा न्यूनीकरणका लागि सरकार र समाजका अन्य सरोकार पक्षसँग निरन्तर चासो व्यक्त गर्दै आउनुभएको र आजको छलफल पनि त्यसैकै निरन्तरता रहेको बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्