तपाईँ सुन्दै हुनुहुन्छः

‘विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षा सुधार हुँदैन’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताउनुभएको छ ।

थापाथली इन्जिनियरिङ क्याम्पसको ५६ औँ वार्षिकोत्सवमा मन्त्री पौडेलले देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको नभई युग सुहाउँदो हुनुपर्नेमा जोड दिनुभयो ।

देश सुरुङ मार्ग, लिफ्टिङ सिचाई, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै उहाँले इन्जिनियरलाई गम्भीर हुन आग्रह गर्नुभयो । ‘जाँदा पिच भएको बाटो फर्किँदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भन्नुभयो, ‘यस्तो परम्परालाई चिर्नुपर्‍यो ।’

पूर्वाधार निर्माणमा इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने मन्त्री पौडेलले बताउनुभयो ।

विभिन्न चरणमा भएका सम्झौता कार्यान्वयनको चरणमा रहेको बताउँदै यस वर्षदेखि देशका ४० बढी क्याम्पसहरूको भौतिक संरचना बन्ने उहाँको भनाइ छ ।

कार्ययोजना, दक्षता, लगनशील, अनुशासन र ऊर्जाशील भए मात्रै नवीनतम नतिजा दिन सकिने उल्लेख उहाँले गर्नुभयो । आफ्नो अधिकारको खोजी मात्रै गरेर नुहुने भन्दै कर्तव्य पनि भुल्न नहुनेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button