हुन्डीको १९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
बीरगंज । रौतहटमा सशस्त्र प्रहरीले मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएर भारतबाट ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको झन्डै १९ लाख रुपैयाँ सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी ११ नम्बर हेडक्वार्टर गौरबाट सशस्त्र प्रहरी निरीक्षक पङ्कजकुमार सिंहको कमान्डमा सादा पोसाकका खटिएको गस्ती टोलीले बौधिमाई नगरपालिका ९ बाट भारत विहार पूर्वी चम्पारण बस्ने दीपनारायण प्रसादलाई श्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपैयाँ सहित पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख ध्रुव कार्कीले जानकारी दिनुभयो ।
भारतीय बजार बाट ठुलो परिमाणमा स्रोतले नखुलेको नेपाली रुपैयाँ ल्याइरहेको सूचनाको आधारमा खटिएको टोलीले भारतीय नागरिक दीपनारायण प्रसादको विआर ०५ वाई २९६९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाइकलको टुल बक्स, हेलमेट र सिट मुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद रकमसहित भारतीय नागरिकलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी ११ नम्बर हेड क्वाटर रौतहटले जनाएको छ ।
पछिल्लो समय रौतहटमा अवैध हुन्डीको कारोबार अनियन्त्रित रुपमा बढ्दै गएको छ ।







प्रतिक्रिया राख्नुहोस्