निर्वाचन नजिकिएसँग शिक्षकहरूले राजीनामा दिने क्रम बढ्यो
तनहुँ । तनहुँका विभिन्न विद्यालयमा अध्यापन गराउने शिक्षकहरूले राजीनामा दिने क्रम बढेको छ ।
शिक्षा मन्त्रालयले दरबन्दी अनुसारको बजेट निकासा नगर्नुका साथै चुनाव नजिकिएसँगै शिक्षकहरूले राजीनामा दिने क्रम बढेको हो ।
यहाँ चालु आर्थिक वर्षको फागुनसम्म ७२ जना शिक्षकले राजीनामा बुझाएको शिक्षा समन्वय केन्द्र तनहुँका प्राविधिक सहायक राजेश्वर खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार विगतका वर्षहरूमा भन्दा यस बर्ष स्वैच्छिक रुपमा राजीनामा दिने शिक्षकहरूको सङ्ख्या बढेको छ । उहाँले १५ जनाको अनिवार्य अवकाश भएता पनि अन्यले भने स्वैच्छिक रुपमा राजीनामा बुझाएको बताउनुभयो ।
जिल्लामा सबैभन्दा धेरै व्यास नगरपालिकाका विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरूले राजीनामा बुझाएका छन् ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रराज रेग्मीका अनुसार यहाँका ५४ जना शिक्षकको दरबन्दी मिलान गर्ने क्रममा २२ जनाले स्वैच्छिक राजीनामा बुझाएका छन् । केही शिक्षकहरू अन्य जिल्लामा दरबन्दी सहित पुगे पनि अन्यलाई अवकाश दिइएको रेग्मीले बताउनुभयो ।
यहाँ दरबन्दी मिलानका लागि नगरपालिकाको आन्तरिक स्रोतबाट दुई महिनाका तलब सुविधा लिएर राजीनामा दिनेहरू समेत रहेका छन् । सुविधासहित स्वैच्छिक अवकाश लिने शिक्षकलाई व्यास नगरपालिकाले नगद ७० हजार प्रदान गर्ने गरेको शाखा प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयबाट नै दरबन्दी कटौतीमा परेपछि राजनीतिक रुपमा लाभ लिन सक्नेहरू सरुवा भएर बाहिरी जिल्ला जान तयार नभएर स्वैच्छिक राजीनामा दिन तयार भएका हुन् । स्थानीय निर्वाचन नजिकदै गर्दा शिक्षकहरूको राजीनामा आउने क्रम बढेको बढको पाइन्छ ।







प्रतिक्रिया राख्नुहोस्