कार्यसम्पादनमा गुठिचौर गाउँपालिका जिल्लाकै अब्बल, पाँच वर्षको प्रगति सार्वजनिक

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका कार्यसम्पादनमा जिल्लाकै अब्बल गाउँपालिकाको रुपमा साबित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा जुम्लाका आठ स्थानीय तह मध्य गुठिचौर गाउँपालिका पहिलो भएको हो । स्थानीय सरकार सञ्चालन भएदेखि हाल सम्म गरेको काम तथा सेवा प्रवाहको मूल्याङ्कन गर्दा गुठिचौर पहिलो भएको छ ।
आयोगले आगामी आव २०७९/०८० मा स्थानीय सरकारलाई समानीकरण अनुदान दिनका लागि कार्यसम्पादनका आधारमा गरिएको मूल्याङ्कनको प्रतिवेदन गएको फागुन १८ गते सार्वजनिक गरेको थियो ।
सोही प्रतिवेदन अनुसार जुम्लाका आठ स्थानीय तहमध्ये गुठिचौर गाउँपालिका ६५.०२ अङ्क सहित पहिलो भएको गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले बताउनुभयो । पहिलो कार्यकालमा गरेका काम तथा सेवा प्रवाहको आयोगले सही मूल्याङ्कन गरेकामा जनताका काम गर्ने थप ऊर्जा मिलेको उल्लेख गर्नुभयो ।
वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचकलाई आधार बनाएको थियो । अध्यक्ष भण्डारीले भन्नुभयो,“सबै सूचक अनुसार काम गरेर कार्यसम्पादनमा जिल्लाकै पहिलो पालिका हुनुमा आम सरोकारवालाको सहयोग छ । जिल्लाकै पहिलो गाउँपालिका बन्नुमा बजेटको सही सदुपयोग, सबै वडाहरूमा पूर्वाधार विकास,कर्मचारीको सहयोग,स्वास्थ्य सेवा,ज्येष्ठ नागरिकको सुरक्षा,चुस्त सेवा प्रवाह लगायतका कारणहरू छन् । कामको सही मूल्याङ्कन हुँदा हर्षित छौ ।” यसका साथै कर्णालीका ७९ वटा स्थानीय तहमध्ये हुम्लाको सिमिकोट गाउँपालिका भने ७५.३१ अङ्क सहित प्रदेशकै पहिलो भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
गुठिचौरका प्रमुख प्रशासकीय अधिकृत मदन प्रसाद देवकोटाले भौगोलिक विकटता, सीमित स्रोतका बीच पनि कर्मचारी जनप्रतिनिधिको सक्रियताले पालिका पहिलो भएको बताउनुभयो । अब आगामी दिनका लागि चुनौती र जिम्मेवारी थपिएकोले प्रदेशकै उत्कृष्ट हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
गुठिचौरमा चार वर्षमा केके भए ?
कार्य सम्पादनमा जिल्लाकै पहिलो भएपछि गुठिचौर गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी पाँच वर्षमा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यकाल सकिन दुई महिना बाँकी रहँदा पाँच वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सञ्चार, सिचाई, खानेपानी लगायतका विभिन्न क्षेत्रमा गरेका कामहरूको सार्वजनिकीकरण गरेको हो ।
जसमा झारज्वाला घट्ट लिफ्ट इरिगेशन र विगारे लिफ्ट इरिगेशन, रेडियो गुठिचौरको स्थापना तथा सञ्चालन, गरिब सँग अध्यक्ष कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास र बाख्रा वितरण, गरिब जनलाई औषधि उपचारको व्यवस्था,४० देखि ५९ वर्ष सम्मका एकल पुरुष तथा महिलालाई भत्ता वितरण,कृषि क्षेत्रमा पकेट जोन तथा ब्लक स्थापन गरी सञ्चालनमा रहेका तथा व्युटाकुलर निषेध गरिएको छ ।
पालिकाका ५ वटै वडाका सबै बस्तीमा ग्रामीण सडक पुगेको छ । भने अन्तर जिल्ला र अन्तरपालिका जोड्ने सडक निर्माणाधीन अवस्थामा छन् । पाँच वर्षमा झण्डै ४७ वटा भन्दा बढी ऐन कानुन कार्यविधि निर्माण गरेको छ ।
त्यस्तै, प्राविधिक शिक्षा अध्ययन गर्ने छात्र छात्रालाई छात्रवृत्तिको व्यवस्था, किसानको सम्मानको लागि भैसि प्रवर्द्धन कार्यक्रम अन्तर्गत ४० ओटा भैँसी वितरण, गुठिचौर गाउँपालिकाका स्वास्थ्य संस्थामा एसी जडान, किसानलाई व्यावसायिक बनाउनको लागि फुजि स्याउमा अनुदान, गुठिचौरका प्रत्येक वस्तिमा मोटर बाटो पुगेको, गुठिचौरका प्रत्येक घरमा एक घर एक घारोको व्यवस्था, प्रत्येक विद्यालयमा भूकम्प प्रतिरोधी संरचनाको निर्माण भएका छन् ।
साथै, उज्यालो पालिकाका अन्तर्गत सबै घर वस्तिमा विधुतीकरण, ५ बेडको अक्सिजन सहित कोभिड अस्पतालको स्थापना, अन्तर जिल्ला जोड्ने सडक निर्माण, गरिबको रेखा मुनि रहेका जनलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था,पर्यटन प्रर्बद्धनका लागि चोत्रा होमस्टे सञ्चालन, पदमार्ग निर्माण, गुठिचौर पूर्वाधार निर्माण, आधुनिक काठेपुल निर्माण, स्याउ बगैँचा व्यवस्थापन तथा ओखर बगैँचा व्यवस्थापन भएका छन् ।
वातावरण संरक्षणको लागि वडा नं २ र ३ मा एक घर एक ग्याँस वितरण, जिल्लाकै पहिलो डिजिटल गाउँपालिका घोषणा,अप्टिकल फाइवर वस्तिहरूमा इन्टरनेट विस्तार, वृहत् धौलिगाड खानेपानी आयोजनामा लगानी गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । वित्त आयोगको प्रतिवेदनले आफ्नो कार्यकाललाई सफल र अब्बल बनाएकोमा खुसी व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्