तपाईँ सुन्दै हुनुहुन्छः

फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गरेको छ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधवार फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको हो । शिष्टाचार भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै उहाँले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यका रुपमा रहेको स्वतन्त्रता, समानता र भातृत्व नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षमा सधैँ प्रेरणादायी रहँदै आएको बताउनुभयो।

“दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्भाव र आपसी समझदारीमा आधारित रहेको छ” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो,”वर्षौँदेखि उच्चस्तरीय भ्रमणको आदान(प्रदानले विद्यमान सम्बन्धलाई गति दिएको छ। यसमा दुवै देशका सांसदले आ–आफ्नो पक्षबाट योगदान गरेका छन् । यस्ता उत्कृष्ट अभ्यासहरू र योगदानलाई हामी हाम्रा जनताको हितमा लगाउन सक्दछौ” ।

अध्यक्ष तिमिल्सिनाले कोभिड-19 महामारीसँग लड्दा नेपाललाई फ्रान्सले गरेको चिकित्सा सहयोगको प्रशंसा गर्दै खोप अभियानमा कोभ्याक्स् सुविधामार्फत फ्रान्सको समर्थन प्राप्त गरेको स्मरण गर्नुभयो।

भेटका क्रममा उहाँले अहिलेको विश्वको साझा चुनौती भनेको कोरोना महामारी र जलवायु परिवर्तन रहेको बताउँदै  त्यसको सबै मिलेर सामना गर्नुपर्ने धारणा राख्नुभयो। 

त्यसैगरी फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष  रियोटनले आफूहरूको नेपाल भ्रमणका क्रममा गरेको आथित्यता र सम्मानप्रति आभार व्यक्त गर्नुभयो। उहाँले दुई देशबीच सहयोग आदान(प्रदानका लागि पहल गर्ने बताउनुभयो। प्रतिनिधिमण्डलमा सहभागी सदस्यहरूले नेपालको राष्ट्रिय सभा गठन प्रक्रिया, कानुन निर्माण र दुई सदनको भूमिका बारे जिज्ञासा राख्नुभएको थियो। साथै, नेपालमा तीन तहका सरकारको सम्बन्ध र सहकार्य बारे पनि उहाँहरूले अध्यक्ष तिमिल्सिनासँग चासो राख्नुभएको थियो।

फ्रान्सेली प्रतिनिधि मण्डलमा मैत्री समूहका अध्यक्ष  रियोटन सँगै सदस्यहरु ग्राजियला मेल्चियर  र  निकोलस फोरिसियर  तथा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओ सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button