तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने : मुख्यमन्त्री राउत 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने प्रदेश सरकारको उद्देश्यमा सहयोग गर्न काठमाडौँ विश्वविद्यालयले टेक्निकल शिक्षाको पठन पाठनका लागि अनुमति दिएकोमा खुसी व्यक्त गर्नु भएको छ । 

मुख्यमन्त्री राउतले जानकी कलेज फर प्रोफेसनल स्टडीजको सहकार्यमा जनकपुरधाममा आजबाट शुरु भएको चार वर्षे स्नातक व्याचलर अफ टेक्निकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजीको शुभारम्भ गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले प्रदेश सरकारले दक्ष जनशक्तिको निर्माणका लागि प्राविधिक विश्वविद्यालय नै स्थापना गरेको बताउँदै देश विदेशमा ख्याति कमाएका काठमाडौँ विश्व विद्यालयले वीटेक एडआईटी को अध्ययन अध्यापनका लागि अनुमति प्रदान गरेर सरकारको उद्देश्यमा थप सहयोग गरेको बताउनुभयो । 

मुख्यमन्त्री राउतले विदेशमा जाने युवाहरूमा दक्षताको अभाव भएका कारणले नै युवाहरूले पाउने पारिश्रमिक न्यून हुने गरेको बताउँदै प्राविधिक शिक्षामा प्रदेश सरकारले विशेष जोड दिएको बताउनु भयो  । 

उहाँले सामाजिक रूपान्तरणका लागि पनि प्राविधिक शिक्षा आवश्यक भएको बताउँदै नयाँ कार्यक्रमको सफलताको शुभकामना दिनु भयो । 

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका स्कुल अफ एजुकेशनका डिन वालचन्द्र लुइँटेलले विश्व विद्यालयले काठमाडौँ बाहिर मधेश प्रदेशको जनकपुरधाम तथा बागमती प्रदेशको सिन्धुलीमा यो कार्यक्रमको कक्षा सञ्चालनका लागि सम्बन्धन दिएको बताउनु भयो । 

जनकपुरधाममा ३० वटा कोटामा विद्यार्थी भर्ना गर्न मिल्ने गरी कक्षा सञ्चालनका लागि अनुमति प्रदान गरेको र चार वर्षको कूल शुल्क ५ लाख ७१ हजार रहेको पनि कलेजका अध्यक्ष पङ्कज जलानले जानकारी दिनु भयो । 

उहाँले जनकपुरधाममा नै बसेर काठमाडौँमा सञ्चालन रहेको सूचना प्रविधिको अध्ययन विद्यार्थीले सस्तो दरमा गर्न पाउने भएको बताउनु भयो । शुभारम्भ कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह पनि सहभागी हुनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button