तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पोखरेल जनकपुरधाम– पोखरा हवाई सेवा शुभारम्भको पहिलो यात्री

जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश प्रदेशको पर्यटन प्रवर्द्धनका लागि आजदेखि मधेस प्रदेशको भ्रमणमा आउनुभएको छ । 

उहाँ बुद्ध एयरले आजदेखि शुभारम्भ गरेको जनकपुर–पोखरा, पोखरा–जनकपुर सिधा हवाई सेवा शुभारम्भको अवसर पारेर जनकपुरधामको धार्मिक पर्यटक भएर आउनुभएको हो ।  

मुख्यमन्त्री पोखरेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले प्रदेश सरकारको तर्फबाट स्वागत गर्नुभएको थियो । 

मुख्यमन्त्री पोखरेलको स्वागतका लागि मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पनि स्वागत विमानस्थल पुग्नुभएको थियो ।  

मधेस प्रदेशको भ्रमणमा आउनुभएका मुख्यमन्त्री पोखरेलले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै आजको दिन ऐतिहासिक दिन भएको बताउँदै यसलाई शब्दमा बयान गर्न नसकिने बताउनुभयो ।  

उहाँले पोखरबाट जनकपुरधाम आउँदा करिब ४०/४५ मिनेट समयमा जुन मेरो अनुभूति भयो त्यसलाई शब्दभन्दा पनि भावनात्मक भएको बताउनुभयो ।  

मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको बताउँदै मधेस प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै जनकपुर– पोखरा हवाई सेवाको शुभारम्भले दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने बताउनुभयो । 

मधेस प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले जनकपुर पोखरा हवाई उडानको शुभारम्भ ऐतिहासिक भएको बताउँदै दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो । 

बुद्ध एयरले अहिले हप्तामा तीन दिन र पछि यात्रुको चाप हेरेर थप गरिने जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुवरले जानकारी दिनुभयो । 

बुद्ध एयरले  सोमबार, बिहीबार र शनिवार जनकपुरधाम–पोखराको उडान भर्ने भएको छ । 

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पुग्दा मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नुभएको थियो । 

आजै मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रसँग मुख्यमन्त्री पोखरेलले शिष्टाचार भेटघाट समेत गर्नुभएको छ । 

मुख्यमन्त्री पोखरेलले आजै नेपालको एक मात्र जनकपुर जयनगर ब्रोडगेज रेल सेवामा चढेर कुर्था रेल्वे स्टेसन सम्मको यात्रा गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button