अब सबै एमसिसीको कार्यान्वयनमा अग्रसर हुनुपर्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ।सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन भएसँगै यससम्बन्धी अन्योल र संशयको अवस्था अन्त्य भएको बताउनुभएको छ ।
उहाँले यसबीचमा उत्पन्न आशङ्कालाई चिर्दै ‘व्याख्यात्मक घोषणा’ सहित एमसिसी सम्झौता सरकार र संसदबाट पारित भइसकेको उल्लेख गर्दै एमसिसी अनुमोदनमा संसदमा रहेका ठुला राजनीतिक दलहरू कसैको पनि विमति नरहेको बताउनुभयो । बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री कार्कीले भन्नुभयो, “त्यसो हुँदा अब परियोजना कार्यान्वयनमा अग्रसर हुनुपर्छ । सम्झौतामा पाँच वर्षभित्रै अनुदान रकम खर्च गरिसक्नुपर्ने प्रावधान छ । अब यसमा अल्मलिनु हुँदैन भन्ने मलाई लाग्छ ।”
उहाँले पाँच वर्षमा पूरा हुनुपर्ने एमसिसी परियोजना करिब साढे चार वर्ष जति अनावश्यक रुपमा विवादित बनाएरै बितेको उल्लेख गर्दै भन्नुभयो, “यो विकास परियोजना फर्काउने अवस्थामा पुगेको थियो, प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको दृढ अठोट र सुझबुझपूर्ण नेतृत्वको कारणले करिब–करिब सर्वसम्मतिमा एमसिसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ, यसबाट हाम्रो साख र विश्वसनीयता अन्तर्राष्ट्रिय जगतमा वृद्धि भएको छ ।”
कांग्रेस नेतृत्वको सरकारमा अर्थमन्त्रीको रूपमा आफूले नै २०७४ भदौमा यो अनुदान सहायतामा सम्भण्mौतामा हस्ताक्षर गरेको जानकारी गराउँदै उहाँले यो अमेरिकाले नेपालको पूर्वाधार विकासका निम्ति अनुदान सहायता दिएको स्पष्ट पार्नुभयो । विश्वका धेरै देशले एमसिसीबाट अनुदान लिँदै पूर्वाधार परियोजना विकास गरी लाभ लिइसकेका उदाहरण दिँदै मन्त्री कार्कीले कतिपय मुलुक दोस्रो चरणमा प्रवेश गरिसकेका भए पनि नेपाल पहिलो चरणमै लामै समय अल्झिएको बताउनुभयो ।
सरकारले सघन प्रयत्न गरी संसदबाट एमसिसी सम्झौता अनुमोदन गराएको जानकारी दिँदै उहाँले सरकार समदुरीको सन्तुलित विदेश सम्बन्ध र आपसी हितमा आधारित सहकार्यमा जोड दिन्छ भन्नुभयो । पूर्वाधार विकासमा राजनीतिकरण गरिनु हुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउँदै उहाँले विगतमा पूर्वाधार परियोजनामा भएका यस्तै अनावश्यक अफवाह र गलत निर्णयका कारण मुलुकले समस्या भोगिसकेको स्मरण गराउनुभयो ।
यस परियोजनाअन्तर्गत ३१२ किमी उच्च क्षमता ९४०० केभी० को प्रसारण लाइन बन्ने र सडक स्तरोन्नतिका दुई ओटा परियोजना रहेका छन् । मन्त्री कार्कीले एमसिसी परियोजनाको निर्धारित लक्ष्यअनुसार सरकारले यसलाई पाँच वर्ष भित्रमै सक्ने लक्ष्य राखेको बताउँदै यसले मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउने जानकारी गराउनुभयो । उहाँले एमसिसीलाई समयमा सम्पन्न गर्न सबैको बीचमा अहिलेझैँ एकता अपरिहार्य छ भन्नुभयो ।
मन्त्री कार्कीले एमसिसी अनुमोदन हुनुअघिका गतिविधि नियाल्दा जिम्मेवार सञ्चारमाध्यमहरुबाट उल्लेख्य रुपमा सहयोग भएको बताउँदै त्यसका लागि नेपालका सबै सञ्चारमाध्यमहरूलाई धन्यवाद पनि ज्ञापन गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्