स्थानीय तहको निर्वाचन : तनहुँमा एक सय ३६ वटा मतदान स्थल

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लागि तनहुँमा एक सय ३६ वटा मतदान स्थल हुने भएका छन् ।
स्थानीय तहको निर्वाचन घोषणा भएसँगै निर्वाचन कार्यालयले मतदान स्थलको टुङ्गो लगाएको हो ।
तनहुँ जिल्लाभर एक सय ३६ मतदान स्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जानकारी दिएको छ ।
निर्वाचनसम्बन्धी सहजीकरणको लागि जिल्लाका दश वटै पालिकामा निर्वाचन फोकल पर्सन तोकिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
त्यसैगरी, मुख्य निर्वाचन अधिकृतसहित दश वटै पालिकामा निर्वाचन अधिकृत तोकिने जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
२०७४ सालमा भएको चुनावमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ वटा, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र ४ वटा भएकोमा त्यसैलाई कायम गरिएको छ भने जिल्लामा १० स्थानीय तह र ८५ वडा छन् ।
तनहुँमा दुई लाख ४८ हजार ४ सय ९३ को विवरण निर्वाचन आयोगमा पठाइएको छ । जसमध्ये पुरुषभन्दा महिला मतदाता बढी देखिएको छ ।
निर्वाचन कार्यालयमा माघ २४ गतेसम्म एक लाख २८ हजार ५४२ महिला र एक लाख १९ हजार ९५१ पुरुषले नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख ढकालले जानकारी दिनुभयो । जिल्लामा तेस्रो लिङ्गी मतदाता नरहेको बताइएको छ ।
स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदाता शिक्षा तथा परामर्शका कार्यक्रमलाई तीव्रता दिइएको प्रमुख ढकालले जानकारी दिनुभयो ।
फागुन १९ गते देखि २२ गतेसम्म दाबी विरोध, विवरण सच्याउन र नामावली हटाउन सबै स्थानीय तहमा पठाइएको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्