तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाकाे बैठक आज, एमसीसी सम्झौतामा छलफल सुरु हुने

काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ ।

बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ पेश गर्नुहुने कार्यक्रम राखिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक राख्नुभएको छ । आजको संसद् बैठकमा अनिवार्य उपस्थित हुन नेपाली काँग्रेसले बुधवार आफ्ना सबै सांसदहरूलाई निर्देशन दिइसकेको छ ।

सरकारले यही फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल गरेपछि आजको बैठकमा यस विषयमा सामान्य छलफल हुनेछ । अघिल्लो बैठकमा अर्थमन्त्री शर्माले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि उहाँ अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो ।

एमसिसीका बारेमा साझा धारणा बनाउन सत्ता साझेदार दलहरुबीच प्रयास भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसिसी पास गर्ने रणनीतिमा भए पनि सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने अहिलेसम्म एमसीसीको विपक्षमा रहेको जनाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने औपचारिकरुपमै सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने अर्को सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टीले भोलि बस्ने कार्यकारिणी समितिको बैठकले एमसिसीबारे औपचारिक धारणा राख्ने भएको छ । यस्तै सत्ता घटक एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button