सामाजिक जीवनलाई अवरोध पुर्याउने कामप्रति गृह मन्त्रालयको ध्यानाकर्षण
काठमाडौँ । गृह मन्त्रालयले पछिल्ला दिनमा सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पुर्याउने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुर्याउने कार्य भइरहेको जनाउँदै त्यस किसिमका कार्य नगर्न सम्बन्धित सबैमा मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।
“पूर्व प्रधानमन्त्री चढेको सवारी साधनमा अवरोध पुर्याउने र ढुङ्गा प्रहार गर्ने सम्मको हर्कत देखिएको भन्दै मन्त्रालयले त्यस्ता हिंसात्मक कार्यप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्ति छानबिनको क्रममा समेत रहेको स्पष्ट पारेको छ”, विज्ञप्तिमा उल्लेख छ । साथै यस्ता प्रकृतिका घटनाको सरकारले गम्भीरतापूर्वक निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।
यही फागुन ८ गते आफ्नो निवासबाट संसद् भवन आउने क्रममा पूर्व प्रधानमन्त्री चढेको सवारी साधनमा एमसीसीको विरोधमा प्रदर्शनकारीले सवारीमा ढुङ्गा प्रहार गरेका थिए ।
जनताको प्रतिनिधिमूलक संस्था संसद्लाई लक्षित गरी माननीय सांसदलाई समेत संसद् भवनमा आवागमनका क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिविधि देखिएको मन्त्रालयले जनाएको छ । सरकार नागरिकको जीउधनको सुरक्षा गर्न सदैव तत्पर रहेको तथा संवैधानिक र कानूनी हकको उपयोग गर्दै शान्तिपूर्ण प्रदर्शनप्रति सरकार र सुरक्षाकर्मीबाट उच्च संयमता अपनाइएको विज्ञप्तिमा जनाइएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्