दुई नगर जोड्ने पुलको निर्माण कार्य तीव्र

तनहुँ । गण्डकी प्रदेश सरकारको लगानीमा तनहुँको शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकालाई जोड्ने गरी क्याङ्दी खोलामा मोटरेवलको काम तीव्र गतिमा भइरहेको छ ।
जिल्लाको अन्य स्थानमा बनिरहेको पुलको तुलनामा यहाँको पुल निर्माण कार्य निकै तीव्र गतिमा भइरहेको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको यो पुल समय अगावै निर्माण गरेर हस्तान्तरण गर्ने योजनामा निर्माण कम्पनी छ ।
आगामी मङ्सिर मसान्तसम्म निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा रसुवा वाई एसएस कम्पनीलाई दिइएको छ ।
निर्माण कम्पनीका ठेकेदार याम विसिले चालु आर्थिक वर्षमा नै आधाभन्दा बढी काम सक्ने गरी निर्माणलाई तीव्र पारिएको जानकारी दिनुभयो । तीन फाउण्डेशन निर्माण सकेर यही आर्थिक वर्षमा दुई वटा स्पान‐स्लयाप) ढलान हुने उहाँले बताउनुभयो । योसँगै ग्याविन र मेसिनरी वाल लगाउने कामलाई पनि तीव्र पारिएको उहाँको भनाई छ ।
ठेकेदार बिसीका अनुसार आगामी असारसम्म पुल निर्माणको ८० प्रतिशत काम सम्पन्न हुनेछ ।
यो पुलले भिमाद नगरपालिकाको वडा नम्बर ८ र शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ८ लाई जोड्ने छ । पुल बनेसँग भिमाद नगरपालिकाको वडा ७, ८, र ९ सहित स्याङ्जाको हरिनास गाउँपालिकाका सर्वसाधारणलाई सवारीमा आउजाउ गर्न निकै सहज हुनेछ ।
ग्रामीण भेगमा उत्पादन हुने कृषि उपजलाई बजार पुर्याउन सहज हुने भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले बताउनुभयो ।
पुल निर्माणले गति लिएकोमा खुसी व्यक्त गर्दै वडाध्यक्ष श्रेष्ठले सदियौँदेखि स्थानीयले क्याङ्दी खोलामा वारपार गर्नलाई भोग्नुपरेको सास्तीको अन्त्य हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार बर्खाको समयमा खोला बढेर आउँदा खाद्यान्न समेत ढुवानी हुन नसक्दा यहाँका स्थानीयले विकल्पमा लामो दुरीका मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ ।
यता सेती नदीमा बन्दै गरेको पुल पटक पटक म्याद थप गर्दा समेत नबनेको कारण भिमाद–८र शुक्लागण्डकी नगरपालिका–१० लगायत स्याङ्जा हरिनासका नागरिकहरू वर्षौँदेखि सहज मोटरको पहुँचमा पुग्न सकेका छैनन् ।
यो पुल गण्डकी प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको पहलमा निर्माण थालिएको हो ।
७० मिटर लम्बाइमा बन्ने पुल बनाउन निर्माण कम्पनीले ७ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको हो ।







प्रतिक्रिया राख्नुहोस्