रत्ननगरका किसानलाई मल खरिदमा ५० प्रतिशत अनुदान

चितवन । चितवनको रत्ननगर नगरपालिकाले किसानहरूलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । रासायनिक मलको प्रयोग कम गर्दै किसानहरूलाई प्राङ्गारिक खेती तर्फ आकर्षित गराउन सो नगरपालिकाले किसानहरूलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको हो । त्यसको लागि नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । एक टेलर मलको तीन हजार देखि तीन हजार ५०० रुपैयाँ सम्म खरिद विक्री हुँदै आएको छ ।
सो नगरपालिकाले एक टेलर मल खरिदमा एक हजार ५०० रुपैयाँ उपलब्ध गराउने छ । एक विघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन् । एक विघा जग्गाको लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रुपैयाँ अनुदान रकम पाउने मेयर नारायण वनले बताए । नगरपालिकामा सूचीकृत भएका पशुपालन फर्महरूबाट किसानहरूले गोबर मल खरिद गर्नुपर्ने छ । त्यसका लागि अहिले सम्म १० वटा पशुपालन फर्म सूचीकृत भएका छन् ।
नगरपालिकामा आयोजित कार्यक्रममा मेयर नारायण वन, उपमेयर विमला दुवाडी र प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले नगरपालिकाले किसानलाई मल उपलब्ध गराउन पशुपालन फर्मलाई लेखेको पत्र किसानलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा मेयर वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिएको बताउनु भयो । ‘हामीले किसानलाई अनुदानमा गाई दिएका छौँ उनले भने पशुपालनलाई कृषिसँग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो । अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको सिकार हुनु परेको भन्दै अर्ग्यानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको मेयर वनले बताउनु भयो ।
कार्यक्रममा उपमेयर विमला दुवाडीले वाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिएको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले माटोको उर्वराशक्ति संरक्षण गरेर उत्पादन वृद्धि गर्ने योजनाका साथ नगरपालिकाले नयाँ कार्यक्रम सुरु गरेको बताउनु भयो । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,कृषि विकास शाखा प्रमुख प्रवीण लामा लगायतले मन्तव्य राख्नु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्