एमसीसी राष्ट्रहितमा छ, अनुमोदन गर्नुपर्छ : कांग्रेस नेता डा महत

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का पक्षमा आफ्ना धारणा राखिरहनुभएको छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहानदेखि सुरु भएको बैठकमा एमसीसी नेपालको पक्षमा रहेको र यसले आर्थिक विकासमा सहयोग पुग्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्नुपर्ने भनाइ सांसदहरूको भनाइ रहेको पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा रामशरण महतले पत्रकारहरूलाई जानकारी दिनुभयो ।
बैठकमा आफ्नो धारणा राखेर बाहिरिनुभएका नेता डा महतले सञ्चारकर्मीहरूसँगको सङ्क्षिप्त प्रतिक्रियामा भन्नुभयो, “ एमसीसीका विरुद्ध भ्रम फैलाइएको छ, यो कुनै सैन्य रणनीतिअन्तर्गत छैन, ती सबै अफवाह मात्र हुन्, मैले यही कुरा राखेँ र अरू साथीहरूले पनि यसै विषयमा धारणा राखिरहनुभएको छ ।”
उहाँले एमसीसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरिएको भन्दै यसका विरुद्धको भ्रम चिर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले यो परियोजना राष्ट्रहितमा रहेकाले अनुमोदन गर्नुपर्ने पनि बताउनुभयो । साथै उहाँले बैठकमा एमसीसी विरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरूलाई आग्रह गरेको पनि जानकारी गराउनुभयो ।
नेता डा महतले एमसीसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको पनि बताउनुभयो । उहाँले एमसीसीलाई अनुमोदन गर्न ढिलाइ गर्न नहुने बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि एमसीसी कार्यालयलाई पत्र लेखेर संसदबाट अनुमोदन गर्न समय माग गरेकाले सोही अनुसार यही फागुन १६ गतेभित्र अनुमोदन गरिसक्नुपर्नेमा जोड दिनुभयो ।
नेता महतले आफ्नो भनाइ राखेपछि बोल्ने सांसदहरुले पनि एमसीसीको पक्षमा धारणा राखेको जानकारी पत्रकारहरूलाई दिनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्