नारायणगढ–बुटवल सडक खण्डमा रुख कटान भएको भन्दै छानबिन गर्न मन्त्रालयलाई समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नारायणगढ–बुटवल सडक खण्डमा स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख गरिएको विपरीत रुख कटान भएकोबारे छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले सडकको भारवहन क्षमताभन्दा बढी मालवस्तु बोकेर सीमा प्रवेश गर्ने मालवाहक सवारी साधनको सीमा नाकामा अनिवार्य परीक्षण गर्ने गरी नीतिगत व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।
यस्तै समिति सभापति कल्याणी कुमारी खड्काले राष्ट्रिय तथा राष्ट्रिय गौरवका आयोजनामा भुक्तानीको समस्या देखिएको भन्दै यस्ता समस्या समाधान गर्ने गरी नीतिगत व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिनुभयो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले मन्त्रालयको पुँजीगत खर्च प्रगतिका विषयमा चिन्तित गरेको उल्लेख गर्दै मन्त्रालयले २० प्रतिशत पुँजीगत खर्च गरेको र आगामी फागुनसम्ममा त्यसलाई ३५ प्रतिशतमा पुर्याउने बताउनुभयो ।
उहाँले पुँजीगत खर्च गर्न नसक्नुमा बजेट निर्माण र कार्यान्वयनमा समस्या रहेको भन्दै यसलाई नीतिगत रुपमा नै समाधान गरिनुपर्ने बताउनुभयो ।
मन्त्री यादवले कहीँ कानूनी व्यवस्था छ व्यवहार र अभ्यास त्यस अनुसार नभएको त कतै काम र अभ्यास गर्न खोजिए पनि कानुनी अप्ठ्यारा रहेको दाबी गर्नुभयो ।
भौतिक पूर्वाधार तथा यातायात सचिव रवीन्द्रनाथ श्रेष्ठले बजेट निर्माण प्रक्रियामा नै समस्या रहेको भन्दै वर्तमान नीतिगत समस्याका कारण चाहेर पनि मन्त्रालयको २२ अर्ब बढी पुँजीगत खर्च यो बर्ष गर्नै नसक्ने बताउनुभयो ।
उहाँले अर्थ मन्त्रालयले ठेक्का लगाउनै नपाइने आयोजनामा बजेट छुट्याउने र खर्च गर्न नदिने जस्ता कारण पनि पुँजीगत खर्चमा प्रगति हुन नसकेको दाबी गर्नुभयो ।
बैठकमा सांसदहरू राजेन्द्र कुमार राई, यज्ञ सुनुवार, बहादुर सिंह लामा, जिपछिरिङ लामा, आशा कुमारी बिक, कमला रोकालगायतले सरकारले नीतिगत निर्णयमा ध्यान नदिएका कारण धेरैजसो योजना निर्माणमा समस्या देखिएको बताउनुभयो ।
समितिले मदन–भण्डारी लोकमार्ग (हेटौडा–चतरा खण्ड) र नारायणगढ–बुटवल खण्ड सडकको कार्य प्रगतिबारे सम्बन्धित आयोजना प्रमुखसँग छलफल गरेको थियो ।
समितिले यी दुवै आयोजनाको समिति सभापति कल्याणी कुमारी खड्काको संयोजकत्वमा दुई छुट्टा–छुट्टै समितिले स्थलगत अध्ययन गरी त्यसको सुझाव कार्यान्वयनका लागि सरकारलाई समेत पठाएको छ ।







प्रतिक्रिया राख्नुहोस्