सुदूरपश्चिममा मन्त्रालय र मातहतका निकायमा ९ सय ८२ कर्मचारीको दरबन्दी रिक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रालय र मातहतका निकायमा गरी ९ सय ८२ कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।
प्रदेश सरकारका अनुसार मन्त्रालय र मातहतका निकायमा समायोजन भएर आएका २ हजार ३ सय ८० दरबन्दी मध्ये हाल ९ सय ८२ पद रिक्त छन् ।
जसमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ४ सय १८ पद, भौतिक पूर्वाधार विकास मन्त्रालयमा १ सय ५२, सामाजिक विकास मन्त्रालयमा १ सय ३५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा १ सय ४६, प्रदेश सभा सचिवालयमा ४६, प्रदेशले लोकसेवा आयोगमा २८ जनाको दरबन्दी रिक्त रहेको छ ।
यसैगरी, आर्थिक मामिला मन्त्रालयमा २२, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा १२, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ९, प्रदेश नीति तथा योजना आयोगमा ८, मुख्य न्यायाधिवक्ताको कार्यालयमा ४ र प्रदेश लेखा नियन्त्रक कार्यालय २ दरबन्दी पदपूर्ति हुन बाँकी रहेको छ ।
यसैबिच सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले कर्मचारी समायोजन ऐनअनुसार प्रदेशमा समायोजन भएर आएका दरबन्दी मध्ये रिक्त पदमा कर्मचारी भर्नाका लागि विज्ञापन गर्न प्रदेश लोकसेवा आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकार प्रवक्ता पूर्णा जोशीले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो । उहाँले सरकारको निर्णयले प्रदेश लोकसेवा आयोगलाई रिक्त दरबन्दी पदपूर्तिका लागि विज्ञापन गर्न मार्ग प्रशस्त भएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्