तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एक महिनापछि २० प्रतिशतमा झर्‍यो कोरोना संक्रमणदर

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणदर २० प्रतिशतमा झरेको छ । पछिल्ला दिन संक्रमणदर घट्दो क्रममै रहेको छ । यो एक महिना यताकै कम संक्रमणदर हो । यसअघि पुस २८ गते २०.५० प्रतिशत संक्रमणदर थियो । त्यसअघि संक्रमणदर २० भन्दा मुनी नै थियो । ओमिक्रोन फैलिए पछिको यो अहिलेसम्मकै कम संक्रमणदर हो ।

बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । जुन २०.६९ प्रतिशत हो । यसमा बाँकेका मात्र ६ जना छन् । बाँकेमा आज १४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । बाँकेमा अब सक्रिय सङ्क्रमितको सङ्ख्या १४१ छ ।

भेरी अस्पताल ल्याब, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा पछिल्लो २४ घण्टामा ८७ नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

भेरीमा ५० नमुना जाँच्दा ८, मेडिकल कलेजमा २५ मा ९ र बागेश्वरी ल्याबमा १२ नमुनामा १ जनालाई कोरोना पुष्टि भएको छ ।  भेरी अस्पतालमा २७ जना उपचाररत छन् । ती मध्ये २४ जना मध्यम, २ जना सिकिस्त र १ जना भेन्टिलेटरमा छन् ।

यस्तै जमुनाहा नाकामा ३२३ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना पोजेटिभ देखिएको वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button