तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्कियो

खोटाङ। पचास शय्यामा स्तरोन्नति गर्ने गरी निर्माण सुरु गरिएको जिल्ला अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्किएको छ । ठेकेदार कम्पनी श्यामसुन्दर/रामसुन्दर नेपाल/फूलबारी जेभीले निर्माणको जिम्मा लिएको अस्पतालको पश्चिमपट्टि लगाइएको पर्खाल सम्पन्न नहुँदै भत्किएको हो ।

जिल्लाको एक मात्र सरकारी अस्पतालको स्तरोन्नति हुने भएपछि उपचार सेवालाई निरन्तरता दिन पुरानो भवन भत्काउनुअघि पश्चिमपट्टि प्रि–फ्यावको अस्थायी भवन निर्माण गरिएको थियो । अस्थायी भवनको अगाडिपट्टि निर्माणाधीन टेवा पर्खाल सम्पन्न नहुँदै भत्किएपछि अस्पताल भर्ना भएर उपचार गराइरहेका जटिल किसिमका बिरामी जोखिम मोलेर उपचार गराउन बाध्य छन् ।

ठेकेदार कम्पनीले घडेरी सम्याउँदा फालिएको माटोमाथि पर्खाल लगाएकाले भत्किएको नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले बताउनुभयो । “निर्माणाधीन अस्पताल भवनको पर्खाल हिउँदे वर्षामै भत्किएको छ”, उहाँले भन्नुभयो, “जिल्ला अस्पतालजस्तो संवेदनशील क्षेत्रमा निर्माणाधीन भवन गुणस्तरीय बनाउन र छिटो सम्पन्न गराउन सम्बन्धित निकायको तत्काल ध्यान जान जरुरी छ ।”

पर्खाल निर्माण गरिएको ठाउँ कमजोर रहेको र स्टिमेटसमेत गलत भएकाले अस्पतालको निर्माणाधीन पर्खाल भत्किएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाका इन्जिनियर रामहृदय पट्टेलले बताउनुभयो । “पर्खाल भत्किनुमा ठेकेदार कम्पनीको लापरबाही देखिन्न”, उहाँले भन्नुभयो, “आरसिसी पर्खाल लगाउनुपर्नेमा स्टिमेटअनुसार नै मेसिनरी पर्खाल लगाउँदा भत्किएको देखिन्छ, वर्षामा पानी पलाउने उक्त ठाउँमा अब डिजाइन परिवर्तन गरेर आरसिसी पर्खाल लगाउन लगाइन्छ ।”

सङ्घीय सरकारको करिब रु २१ करोडको लागतमा ३० महिनाभित्र भवन निर्माणको काम सक्ने गरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न अहिले पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ ।

अस्पतालमा सञ्चालित बिरामी भर्ना कक्ष, डेलीभरी (सुत्केरी गराउने ठाउँ) कक्ष, शल्यक्रिया कक्ष, आकस्मिककक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा बैभव मल्लिकले बताउनुभयो । “४० मिटर लम्बाइ र २०.५ मिटर चौडाइ हुने चारतले आरसिसी पक्की भवन निर्माणको काम सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “हिलो तलामा ओपिडी कक्ष, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी कक्षलगायतका संरचना निर्माण गर्ने योजना छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button