चितवन राष्ट्रिय निकुञ्जमा ६ महिनामा १०३ वटा वन्यजन्तुको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक बर्ष ०७८।०७९ मा १०३ वटा वन्यजन्तुको मृत्यु भएको छ । चालु आवको साउन देखि पुस महिना सम्म प्राकृतिक र अन्य कारणले ती वन्यजन्तुको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जका अनुसार सबैभन्दा बढी चित्तलको मृत्यु भएको छ । सो अवधिमा सबै वन्यजन्तु गरी १०३ वटाको मृत्यु भएकोमा ४० वटा चित्तलको मृत्यु भएको हो ।
सो अवधिमा २३ वटा गैँडाको मृत्यु भएको छ । १० वटा अर्ना, जरायो पाँच वटा, रतुवा तीन वटा मरेका छन् । अन्य संरक्षित वन्यजन्तुमा बाघ, बँदेल, अजिङ्गर, लगुना, चखेवा, मलाहा बिरालो र सर्प गरी दुई, दुई वटाको मृत्यु भएको छ ।
यस्तै अन्य संरक्षित वन्यजन्तुमा हात्ती, चितुवा, भालु, मगरगोही, बकुल्ला, कछुवा, गौरीगाई , नीलगाई र गोहोरा सबै गरी एक एक वटाको मृत्यु भएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका सूचना अधिकारी, गणेशप्रसाद तिवारीले धेरैजसो वन्यजन्तु निकुञ्ज भित्र वा बाहिर निस्कदांँ प्राकृतिक कारणले मृत्यु हुने गरेको बताउनुभयो । ‘गैँडाको हकमा धेरै जसो बुढो भएर, जुधेर मर्ने गरेको हुन्छ, तिवारीले भन्नुभयो, अन्य वन्यजन्तुहरू पनि अधिकांश प्राकृतिक तथा फसेर, दुर्घटना भएर मर्ने गर्दछन् ।’ बिषेशगरी आफ्नो वासस्थानबाट बाहिर निक्लँदा, एक आपसमा वन्यजन्तु जुध्दा गम्भीर घाइते भई मर्ने तथा मानव र वन्यजन्तुको द्वन्द्वका कारण पनि यस्ता घटना हुने गरेको तिवारीको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्