तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरा सदरमुकाममा हिमपात 

डडेलधुरा । बिहानै देखि परेको वर्षासँगै डडेलधुरा सदरमुकाममा हिमपात पर्न थालेको छ । 

केही दिन देखिको कठ्याङग्रिदो चिसोका कारण समस्यामा रहेका सदरमुकामवासीलाई आज थप हिमपात हुन थालेपछि झन् कष्टकर हुने भएको छ ।  
हिमपातका कारण डडेलधुरा बजार क्षेत्र सेताम्मे भएको छ भने भीमदत्तराज मार्गको हगुल्टे, गैरा, भाँतकाडा, साहुखर्क लगायतका क्षेत्रहरूमा बाक्लो हिमपात जमेपछि यातायातका साधनहरू गुड्न बन्द भएका छन् । 

केही समय अघि देखि परिरहेको हिमपात निरन्तर पर्न थालेको छ । वर्षासँगै हिमपात हुन थालेपछि आज राती थप हिमपातका कारण घरबाहिर समेत आवतजावत गर्न निकै कठिनाइ हुने स्थानीयवासी भोजराज पनेरुले बताउनुभयो ।  

वर्षासँगै चिसो हुन थालेको यो मौसममा हिमपात पर्न सुरु भएपछि रातीमा अत्यधिक हिमपात हुने अनुमान गर्न सकिने पनेरुले बताउनुभयो । अन्य वर्षहरू भन्दा यो बर्ष बढी हिमपात हुने देखिएको बताउँदै पनेरुले गर्मी मौसम सुरु भई सक्दा पनि चिस्यानको मात्रामा कुनै कमी नआउँदा हिमपात हुनु स्वभावीकै रहेको बताउनुभयो । 

उग्रतारा सार्वजनिक यातायात समिति डडेलधुराका अनुसार तराईबाट आएका सवारी साधनहरू हिमपातका कारण भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रहरूमा रोकिएका छन् ।  आउने सवारी साधनहरू ४ बजेतिर डडेलधुरा सदरमुकाम पुगिहाले अब पछि आउने सवारी साधनहरू भने बाटोमै रोकिन पुगेका छन् । रात परेका कारण अहिले बाटो खोल्न सकिने अवस्था नरहेको र थप हिमपात परिरहेकोले यात्रुहरूलाई भने निकै समस्या हुने जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button