चार वर्षीय छोरासहित महिला बेपत्ता

बागलुङ । गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैँतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान् राजेन्द्र विकले जानकारी दिनुभयो ।
सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उहाँको भनाइ छ । राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवेदन दिनुभएको छ । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि मङ्गलवार जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको राजेन्द्रले बताउनुभयो । पुस २६ गते साँझ फोनमा कुराकानी भएपछि श्रीमतीसँग रहेको मोबाइल बन्द रहेको उहाँको भनाइ छ ।
“म २५ गते गाडी लिएर पोखरा गएको थिएँ, २६ गते घर आउँदा उनी छोरासहित आफ्नो लुगाफाटो लिएर हिँडेकी रहेछिन्”, राजेन्द्रले भन्नुभयो, “कुराकानी हुँदा भाइकोमा आएकी छु भन्थिन, पछि मोबाइल बन्द भयो, त्यसपछि सम्पर्क हुन सकेन ।” आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको उहाँको भनाइ छ । परिवारजनले हराएका आमाछोरा फेला परेमा नजिकको प्रहरी या आफन्तकहाँ खबर गरिदिन आग्रह गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्