तपाईँ सुन्दै हुनुहुन्छः

मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक हो : अध्यक्ष प्रचण्ड

File photo

काठमाडौँ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताउनुभएको छ । उहाँले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गर्नुभएको छ ।

थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरूप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन हुनु आफैँमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रूपमा रहेको बताउनुभएको छ ।

यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उहाँले नेपाल भौगोलिक एवम् सांस्कृतिक विविधताले भरिएको मुलुक भएको स्मरण गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “यी चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता र भाइचारा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका पनि छन् । नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वलाई आधार स्तम्भका रूपमा लिन सकिन्छ ।”

विश्वभर पुनः फैलिएको कोरोना भाइरसको महामारीका कारण हामीले आफ्ना पर्वलाई उत्सवका रूपमा मनाउन नसकेको भन्दै उहाँले महामारीबाट आफू, आफ्नो समाजलाई सुरक्षित गर्न र स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button