डर र लाजले खुल्दैनन् पाठेघर खस्ने समस्या भएका महिलाहरू

सल्यान । सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाए पनि सल्यानका ग्रामीण इलाकाका महिला पाठेघर खस्ने समस्या लुकाएर राख्ने गरेको पाइएको छ ।
खासगरी अशिक्षा तथा लाजका कारण धेरै गाउँका महिला उक्त समस्याका बारेमा खुलेर भन्न र उपचार गर्न नसकिरहेको स्वास्थ्यकर्मीहरूको भनाई छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले दुई स्थानमा गरेको स्त्रीरोग सम्बन्धी विशेषज्ञ शिविर र पाठेघरको स्क्रिनिङ शिविरमा पाठेघर सम्बन्धी समस्या भएका महिला धेरै देखिएको कार्यालयले जनाएको छ । त्रिवेणी गाउँपालिकाको काभ्रामा भएको विशेषज्ञ शिविरमा २ सय ३० जना महिलाले चेकजाँच गराएकोमा १२ जनामा पाठेघर खस्ने समस्या देखिएको छ भने २ जनामा भिटिए पोजेटिभ देखिएको कार्यालयका कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।
यस्तै बनगाड कुपिण्डे नगरपालिकाको ढोरपिपलमा गरिएको स्क्रिनिङ शिविरमा १३७ जनाको स्क्रिनिङ गरिएको छ । जसमा पाठेघर खसेको ९ र भिटिए पोजेटिभ ३ जना रहेका छन् ।
कलिलो उमेरमा बिहे गरेर बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, सुत्केरी भएको बेला कडा श्रम गर्नु, सुत्केरीले पर्याप्त पोषणयुक्त खानेकुरा नखानु जस्ता कारणले पाठेघर खस्ने समस्या हुने त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य संस्थामा नगएर घरमै सुत्केरी हुने तथा परिवार नियोजनका साधन प्रयोग नगर्ने जसका कारण गर्भान्तर कम हुनु पनि कारण हुन् ।
त्यो समस्या जटिल हुँदै गए क्यान्सर समेत हुन सक्ने चिकित्सकहरूको भनाई छ ।
जटिल समस्या नआउँदासम्म आङ खसेका महिलाले आफ्नो व्यथा लुकाएर राख्छन् जसका कारण दिन प्रतिदिन उनीहरूको व्यथा बल्झिँदै जाने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी डिसीले बताउनुभयो । गह्रुङ्गो भारी बोक्दा, चुरोट बिडी खाएर बारम्बार खोक्दा, बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्दा, कलिला उमेर सुत्केरी हुँदा पाठेघर खस्ने समस्या देखिने उनको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्