तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमण नियन्त्रण गर्न यस्तो छ भक्तपुरको तयारी

भक्तपुर । बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले फेरि अभियान सुरु गरेको छ ।

प्रशासनले मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने भएको छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमणसँगै आउन सक्ने विपतलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मास्क अभियान सञ्चालन गरी मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले मास्क अभियान सञ्चालन गर्न नगरपालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । त्यस्तै सार्वजनिक यातायातका साधनमा मास्कलाई कडाइ गर्ने, घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने निर्णय भएको छ ।

बैठकले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई समेत प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । १२ वर्ष वा सो भन्दा माथिका स्थानीय तहका लक्षित समूह, पहिलो र दोस्रो खोपको मात्रा नलगाएकाहरूको विश्लेषण  गरी आवश्यक मात्रामा खोप केन्द्रको व्यवस्था गर्ने र खोपको प्रचार प्रसारलाई तीव्रता दिने निर्णय भएको प्रजिअ शर्माले बताउनुभयो ।

जनप्रतिनिधि र सुरक्षा निकायको सहयोग र समन्वयमा खोप अभियानलाई प्रभावकारी बनाई पूर्ण खोपको सुनिश्चितता गराउन सहजीकरण गर्ने, खोपको पहुँच र कभरेज वृद्धिका लागि शिक्षा समन्वय इकाई, प्याव्सन र एन प्याव्सन मार्फत निरन्तर प्रचार प्रसार र सहयोग गर्ने निर्णय भएको छ ।

यस्तै सम्पूर्ण सार्वजनिक निकायमा आउने सेवाग्राहीलाई खोप लगाउन प्रोत्साहित गर्ने, यसको सूचना स्वास्थ्य कार्यालयले तयार गरी सबै कार्यालयहरूमा पठाउने निर्णय भएको प्रजिअ शर्माले बताउनुभयो ।

सबै सरकारी अस्पताल, नियमित खोप सञ्चालन गर्न सूचिकृत गैरसरकारी अस्पताल, निजी अस्पताल र घना बस्ती रहेका क्षेत्रमा नियमित खोप केन्द्र तोकी नियमित खोप अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

बैठकले सङ्क्रमणका कारण अस्पतालहरूमा आउन सक्ने बिरामीको चापलाई समेत ध्यानमा राखी सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

बैठकले जिल्लाका सबै सरकारी र निजी अस्पतालहरूलाई तयारी अवस्थामा राख्ने, अक्सिजन तथा आवश्यक सामग्रीको आवश्यक मात्रामा भण्डारण गर्ने, स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

बैठकले जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि नगरपालिकाका हटस्पट पहिचान गरी राजनैतिक दल र जनप्रतिनिधिहरूसँग आवश्यक समन्वय गरी परीक्षणलाई बढाउने निर्णय गरेको छ ।

भक्तपुर उद्योग वाणिज्य सङ्घ र भक्तपुर चेम्बर अफ कमर्सको सहयोग र समन्वयमा व्यक्तिगत रुपमा प्रयोग भएका र स्टक रहेका ग्यास सिलिण्डरहरु सम्बन्धित उद्योगमा फिर्ता गर्न पहल गर्ने, जिल्लाका सीमा नाकामा सुरक्षा निकायले कडाइका साथ जाँच गर्ने निर्णय समेत बैठकले गरेको प्रजिअ शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button