कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउन वीरगंजबाट २५ नमुना काठमाडौँ पठाइयो
वीरगंज । वीरगञ्जमा पछिल्लो समय भेटिएको कोरोना भाइरसको भेरियन्ट पत्ता लगाउन २५ नमुना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको छ ।
वीरगञ्जमा परीक्षण गर्दा पोजेटिभ देखिएको २५ नमुना जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको नारायणी अस्पतालका प्रयोगशाला प्रमुख सूक्ष्म जीवविज्ञ डा. प्रभाकर पाण्डेले बताउनुभयो ।
पीसीआर परीक्षण गर्दा पोजेटिभ आएका ११ र एन्टिजेन पोजेटिभ आएका १४ गरी २५ नमुना काठमाडौँ पठाइएको डा.पाण्डेले बताउनुभयो । जिन सिक्वेन्सिङ गरेपछि कोरोना संक्रमण गराउने भाइरसको किसिम पत्ता लाग्छ ।
पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिएको छ । वीरगञ्जमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सो भाइरस ओमिक्रोन हो वा नेपालमा पहिलेदेखि नै रहेको भेरियन्ट हो भन्ने पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्न लागिएको हो ।
यो जिन परीक्षण गर्ने किट पनि काठमाडौँमा मात्रै रहेको छ । जिन परीक्षणपछि नेगेटिभ आएका स्याम्पलको जिन सिक्वेन्सिङ हुन्छ’ उहाँले भन्नुभयो ।
हाल वीरगञ्जसँग सीमा जोडिएको सीमावर्ती भारतीय राज्य विहारमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्