तपाईँ सुन्दै हुनुहुन्छः

इन्टरसेवा प्रदायक कम्पनीबाट पोल भाडा बापत झण्डै १ करोड असुल

चितवन । विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले चितवनमा सेवा दिइरहेका इन्टरनेट सेवा प्रदायक कम्पनी(आइएसपी) बाट पोल प्रयोग गरेबापत झण्डै १ करोड भाडा असुलेको छ । 

कार्यालयका अनुसार १४ वटा ती सेवा प्रदायक कम्पनीले भदौ यता ९६ लाख ८४ हजार ७९ रुपैंया भाडा तिरेका हुन् । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले बक्यौता रहेका ती कम्पनीहरूले भदौ पछि कुल सो रकम तिरेको जानकारी दिनुभयो  । 

उहाँका अनुसार पोल भाडा बक्यौता तिर्नेमध्ये सबैभन्दा बढी पोल भाडा चितवन युनिक केवलले ३० लाख ५५ हजार ६८ रुपैंया र सबैभन्दा कम पी डी एस सर्भर नेटवर्कले २५ हजार ४२५ रुपैंया बक्यौता तिरेको छ । 

यसैगरी कनेक्ट नेपालले १ लाख ७७ हजार ९७५ रुपैंया, त्रिवेणी केवल नेटवर्कले १ लाख ९३ हजार ८०० रुपैंया, प्राइम नेटवर्कले २ लाख ३ हजार ४०० , फाइवर वर्ल्ड कम्युनिकेसन प्रालि १ लाख २२ हजार ४० रुपैयाँ र ब्रोडलिंकले १ लाख १ हजार ७०० रुपैयाँ पोल भाडा तिरेका छन् । 
अन्य बक्यौता तिर्ने आइएसपी कम्पनीहरूमा वेबसर्फरले ३ लाख ५ हजार १००,  डिसहोमले ६ लाख ६१ हजार ५०, सुबिसु नेटवर्कले २२ लाख २४ हजार ६६ रुपैयाँ, टेक माईन्डस कम्युनिकेसनले २० लाख रुपैंया र एनसेल कम्पनीले ८५ हजार ४२८ रुपैंया तिरेको पौडेलले जानकारी दिनुभयो  । 

यस्तै दुई कम्पनीले स्वघोषणा गरी पोल भाडा तिरेका छन् । ती मध्ये एक कम्पनीले १ लाख ११ हजार ४८७ रुपैंया र अर्को स्वघोषणा गरी बुझाउने कम्पनीले ४ लाख १७ हजार ५४० रुपैंया पोल भाडा बुझाएका छन् । स्वघोषणा गर्ने कम्पनीले कार्यालयसँग समन्वय नगरी बैङ्कमा सिधै रकम जम्मा गरेकोले नाम नखुलेको इन्जिनियर पौडेलले  बताउनुभयो  । 

अन्य बक्यौता रकम ताकेता गरेसँगै आउने क्रम रहेको र सम्झौता अनुसार नै पोल भाडा तिरिएको पौडेलले बताउनुभयो  । हालसम्म सबै इन्टरनेट सेवा प्रदायक कम्पनीले ६० लाख भन्दा बढी बक्यौता तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ । 

लामो समयपछि पनि आइएसपी हरुले प्राधिकरणलाई बक्यौता तिर्न अटेर गरेपछि कार्यालयले असोजमा उनीहरूको इन्टरनेट सेवाका उपकरणहरू जफत गर्ने  र तार काटिदिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button